काठमाडौं – प्रमुख प्रतिक्षी नेपाली कांग्रेसले संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।
संसद अधिवेशन अन्त्य गर्ने सरकार तानाशाही भएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो।
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिपक्षले उठाएको मागप्रति सरकारले बेवास्ता गरेको ठहरसमेत गरेको छ।
बहालवाला मन्त्री नै सहकारीको रकम ठगीमा संलग्न रहेकाले छानबिन गर्न प्रतिपक्षले उठाएको माग सरकारले बेवास्ता गरेको कांग्रेस संसदीय दलको ठहर छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विपक्षले सहकारीको रकम हिनामिनाको विषय उठाउँदा सरकारले बेवास्ता गरेको बताए।
सरकार संसदबाट भागेर संसदीय अभ्यासलाई कमजोर बनाउनतर्फ उद्यत रहेको लेखकले आरोप लगाए।
‘उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमाथि गम्भीर र सार्थक संवाद हुनुपर्ने हो। तर, सरकार संसदीय मूल्य मान्यताविपरित अगाडि बढेको छ,’ उनले भने, ‘सरकार संसदबाट भाग्न मिल्दैन।’
संसद कांग्रेसले नभएर सरकार गैह्रजिम्मेबार बन्दा अवरूद्ध भएको लेखकको भनाइ थियो।
उनले संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलाई संसदीय दलको बैठकले घोर भत्र्सना गरेको जानकारी दिए।
Leave a Reply