तराईमा उखरमाउलो गर्मी : जनजीवन प्रभावित, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

जनकपुरधाम- तराई–मधेसमा अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ।

पछिल्लो केही दिनयता निरन्तर गर्मी बढ्न थालेपछि जनजीवन प्रभावित बनेको हो।

अत्याधिक गर्मीका कारण खानेपानीको समस्या हुनुका साथै मुख्य सहरका बजारहरूमा सर्वसाधारणको चहलपहल घटेको छ।

उखरमाउलो गर्मीका कारण दिउँसोको समयमा बजारहरू सुनसान हुन थालेका छन्।

बिहानैदेखिको चर्को घाम र दिउँसो तापक्रम बढी भएपछि विद्यालय जाने बालबालिकाहरूको स्वास्थ्यमा प्रत्यक्ष असर देखिन थालिएको छ।

अत्याधिक गर्मीका कारण बालबालिकाहरू विद्यालयमै बेहोस हुने गरेको पाइएको छ।

गर्मीले जनजीवन प्रभावित बनेसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

महानगरले बिहीबारदेखि २ असारसम्म आफूमातहतका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको हो।

तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम बढ्नसक्ने मौसम विभागको पूर्वानुमान तथा बालबालिकाको स्थास्थ्यलाई दृष्टिगत गरी तीन दिन बिदा दिने निर्णय भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए।

बिहान साढे १० बजेभित्रै पठनपाठन गराउन निर्देशन दिइए पनि यो समयमा पनि विद्यार्थी बेहोस भएको पाइएपछि थप तीन दिन बिदा दिने निर्णय भएको उनले बताए।

यसअघि महानगरले जेठ १६ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो।

जल तथा मौसम विज्ञान विभागले मध्य तथा पश्चिमी तराईमा अत्याधिक गर्मी र तातो हावाको लहरको सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *