जनकपुरधाम- पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री नियुक्त भएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव शनिबार पहिलोपटक जनकपुर आए।
पार्टीनिकट स्वास्थ्यकर्मीहरूको संगठन नेपाल स्वास्थ्यकर्मी फोरमको राष्ट्रिय अधिवेशनको उदघाटन गर्न अध्यक्ष यादव जनकपुर आएका थिए।
मुलुकको उपप्रधान एवं स्वास्थ्यमन्त्रीका रूपमा जनकपुर आउँदा जसपा नेपालका अध्यक्ष यादवको मन ‘भारी’ देखिन्थ्यो। अनुहार मलिन थियो।
पार्टीनिकट स्वास्थ्यकर्मी ठूलो संख्यामा स्वागतका लागि जनकपुर विमानस्थल पुगे पनि यादव धेरै उत्साहित देखिएका थिएनन्।
नेपाल सरकारका तर्फबाट विश्व स्वास्थ्य संगठनको एउटा कार्यक्रममा सहभागी हुन अमेरिका गएकै बेला जसपा नेपाल टुक्रिएको ‘पीडा’ उनलाई प्रष्टै देखिन्थ्यो।
आफू अमेरिका भ्रमणमा जाँदा कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका अशोक राईले नै जसपा नेपाल विभाजन गरिदिएपछि यादवमाथि एकखाले राजनीतिक ‘संकट’ आइपरेको छ।
हुनत जसपा नेपालका नेताहरू ‘यसखाले विभाजन र आएका समस्यापछि आफूहरू थप बलियो भएको’ दाबी गर्छन्।
राजनीतिक रूपले यो उनीहरूको टिप्पणी भए पनि विश्लेषकहरू पछिल्लो विभाजनपछि जसपा नेपालले ठूलो क्षति बेहोर्नुपर्ने तर्क गर्छन्।
अध्यक्ष यादव भने पछिल्लो घटनाक्रमका कारण आफूहरूको आन्दोलनमा कुनै फरक नपर्ने दाबी गर्छन्।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले यस्तो बताए।
पार्टी टुक्र्याउनेहरूलाई उनले ‘कुकुर’ को संज्ञा दिए। यादवले भने,‘कुकुरले टोक्दैमा हामी कुकुरको पछाडि जाने होइन। दुईचारवटा लोभीपापी बाहिरिँदैमा जनता मुक्तिको आन्दोलनमा केही फरक पर्दैन।’
स्वार्थ पूरा गर्न केही व्यक्तिले आफ्नो पार्टी फुटाउने काम गरेको उनको भनाइ थियो।
जसपा नेपालबाट अलग भएर जनता समाजवादी पार्टी (जसपा) बनाएका राई भने ‘कसैसँगको लेनदेनका आधारमा’ पार्टी विभाजन नभएको टिप्पणी गरेका छन्।
गत फागुनमा केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेसहरूमा परिरहेको देखिका बेला जसपा नेपालको विभाजनले विशेषगरी मधेस प्रदेसमा सरकार ‘ढल्न सक्ने’ अनुमानहरू पनि गरिएका छन्।
खासगरेर मधेस प्रदेस सरकारका सत्ताधारी दलहरू नेकपा एमाले र माओवादी केन्द्र जसपा नेपाल इतर गठबन्धन बनाएर नयाँ सत्ता समीकरण बनाउनसक्ने अनुमान गरिएको छ।
करिब ७ वर्षदेखि मधेस प्रदेसमा सरकारको नेतृत्व गरिरहेको जसपा नेपाललाई बाहिर राखेर नयाँ समीकरण बनाउने प्रयास भइरहेको नेताहरूको भनाइ छ।
एमाले र माओवादी केन्द्र सरकारबाट बाहिरिने तयारी गरेको भन्ने दुई दिनअघि चर्चा नै चलेको थियो।
सर्लाही पुगेका प्रदेस सरकारमा सामेल एमालेका तीन जना मन्त्रीहरू एक्कासी कार्यक्रम छाडेर जनकपुर आएपछि यो चर्चाले थप बल पाएको थियो।
सत्ता साझेदार दल माओवादी केन्द्रका एक जना उच्चपदस्थ नेता सरकारको नेतृत्व फेर्ने विषयमा छलफलहरू भइरहेको स्वीकार गरेका छन्।
‘हामी आन्तरिक छलफलहरू गरिरहेका छौं, सरकारको नेतृत्व फेर्ने विषयमा कुराकानी भइरहेको छ,’ ती नेताले भने।
छलफलहरू भइरहे पनि निष्कर्षमा पुगि नसकेको उनले बताए।
मुख्यमन्त्री एमालेलाई दिनेगरी आन्तरिक छलफल भइरहेको बताइएको छ।
यादवको आरोप
अमेरिका भ्रमण सकिएर नेपाल फर्किएलगत्तै जसपा नेपालका अध्यक्ष यादव सोझै प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका थिए।
पार्टीभित्र एकलौटी गर्न खोजेको, मधेस प्रदेसमा भ्रष्टाचारलाई बढावा दिएको राई पक्षले यादवमाथि आरोप लगाएका छन्।
पार्टीलाई ‘निजी कम्पनी’ जस्तो बनाएपछि बाध्य भएर विभाजन गर्नुपरेको आरोप राई पक्षको छ।
यसका साथै नेपाली कांग्रेस र एकीकृत समाजवादीसँग मिलेर सत्तामा हुँदाहुँदै सरकार ढाल्न खोजेको आरोप पनि उनीहरूले यादवमाथि लगाएका छन्।
तर, यादवले त्यसलाई अस्वीकार गरेका छन्। उनले यो आरोपलाई झुटा, भ्रमपूर्ण र कपोकल्पित भनेका छन्।
जसपा नेपालका अध्यक्ष यादवले पार्टी विभाजनका लागि पैसाको लेनदेनका साथै ठूला प्रलोभनहरू दिइएको दाबी गरेका छन्।
यद्यपि उनले आर्थिक चलखेल भएको भन्ने आरोपको कुनै ठोस प्रमाण दिन सकेका छैनन् नै बाह्य शक्ति भनेर कसलाई संकेत गरेका हुन् त्यो पनि प्रष्ट पारेका छैनन्।
यादवले यस्तो आरोप लगाए पनि राई पक्षले भने कसैको प्रभावमा परेर दल विभाजन नगरेको बताइरहेका छन्।
पार्टी विभाजनपछि बिहीबार पहिलो पत्रकार सम्मेलन गरेर राईले भने,‘हामीलाई कुनै व्यक्तिले सांसद बनाएको होइन, जनताले बनाएका हुन्। यसमा अन्यथा प्रचार गर्नुपर्ने अराजनीतिक प्रचार हो। हामीले कसैसँग लेनदेनको आधरमा विभाजन गरेका होइनौं। सैद्धान्तिक, राजनीतिक, नीतिगत कुराहरूमा विमति भएकै कारणले विभाजन गरेका हौं।’
यादवले सरकार छाड्न लागेका हुन्?
पार्टी विभाजन भएको भोलिपल्टै स्वदेश फर्किसकेको र राजधानी काठमाडौंमै रहे पनि बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा यादव सहभागी भएनन्।
उपप्रधान एवं स्वास्थ्यमन्त्री रहेका उनी बैठकमा सहभागी नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सत्ताबाट बाहिरिने अनुमानहरू भएका थिए।
तर, यादवले भने कार्यव्यस्तताका कारण मन्त्रिपरिषद बैठकमा सहभागी हुन नसकेको प्रतिक्रिया दिए।
उनले वर्तमान सरकारलाई दिएको समर्थन निरन्तर रहेको र अहिले नै सरकार नछाड्ने पनि बताएका छन्।
यद्यपि समर्थन कायम राखिराख्न प्रधानमन्त्रीको भूमिका पनि महत्पूर्ण हुने जिकिर गरे।
‘एक हातले ताली बज्दैन। यसमा प्रधानमन्त्रीले कसरी लिनुहुन्छ त्यो महत्वपूर्ण कुरा हो,’ उनले भने।
यता दल विभाजन गर्ने राई पक्षले पनि सरकारलाई समर्थन निरन्तर रहने बताएको छ।
खतरामा मधेस सरकार
जसपा नेपाल विभाजनको असर विशेषगरी मधेस प्रदेस सरकारमा देखा पर्ने अवस्था विकसित हुँदै गएको छ।
संघीय सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएसँगै त्यसको प्रत्यक्ष असर मधेस प्रदेसमा पर्ने भएकाले पनि यादवले तत्काल यो निर्णयबाट ‘ब्याक’ भएको बताइएको छ।
उनले प्रचण्ड नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएपछि मधेसमा माओवादी केन्द्र र एमाले पनि बाहिरिने आकलन गरिएको छ।
एमाले र माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै सरोजकुमार यादव नेतृत्वको प्रदेस सरकार अल्पमतमा पर्ने निश्चित छ।
यस्तो अवस्थामा विभाजित बनेको जसपा नेपाल मधेस प्रदेसमा पनि फुट्ने सम्भावना रहन्छ।
मधेस प्रदेसमा जसपा नेपालका १९ जना प्रदेससभा सदस्य छन्। जसमध्ये वनमन्त्रीसमेत रहेका नवलकिशोर साह, प्रतिनिधिसभा सदस्य प्रदीप यादव, नेतृ रेणु यादवको प्रभावमा रहेका ८–९ जना सांसद राई पक्षमा जानसक्ने अनुमान भइरहेका छन्।
एमाले र माओवादीले यादव नेतृत्वको प्रदेस सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारलाई अल्पमतमा पारेर जसपा नेपाल विभाजन गराउनसक्ने विश्लेषणहरू गरिएका छन्।
यद्यपि मुख्यमन्त्री यादवले भने सरकारलाई माओवादी र एमालेले दिएको समर्थन फिर्ता नहुने दाबी गरेका छन्।
जसपा नेपाल विभाजन भएपछि निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य, प्रदेससभा सदस्य, पालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख÷उपप्रमुखहरूलाई सनाखतका लागि १३ जेठसम्मको समय दिएको छ।
विभाजन भएर बनेको नयाँ दल जसपामा जान चाहने जनप्रतिनिधिहरूले आयोगमा सनाखत गर्नुपर्ने हुन्छ।
सनाखतअघि अध्यक्ष यादव जसपा नेपालबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जोगाउने कसरतमा जुटेका छन्।
Leave a Reply