जनप्रतिनिधिहरूलाई बालेनको चेतावनी– नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला

जनकपुरधाम- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले तीन जना नेताले गर्दा १६० जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको बताएका छन्।

महानगरपालिकाको नगरसभाका सन्दर्भ कोट्याउँदै मेयर साहले यस्तो बताएका हुन्।

‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चाहिँ त्यसको औपचारिकतामात्रै दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन,’ सामाजिक सञ्जालमा उनले भनेका छन्।

मेयर साहले काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन कार्यपालिका सदस्यहरूलाई आग्रह गरेका छन्।

महानगरको कुनै पनि नीति तथा योजनाबारे बन्द कोठामा छलफल हुन नगरेको उनले प्रष्ट पारेका छन्।

‘काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन, जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्नसकिने गरी हुन्छ। यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका छौं,’ साहले भनेका छन्।

उनले नगरसभामा कोही पनि कुने पार्टीको नेता र उपनेताका रूपमा नरहेको जिकिर गरेका छन्।

साहले लेखेका छन्,‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारूपमा रहँदैनन्। १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ।’

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *