जनकपुरधाम – कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्लाको जोशीपुर गाउँपालिका–३ भितरीया बस्ने ३२ वर्षीय जयराम डगौराको बुधबार बिहान खेतमा काम गरिरहँदा चट्याङ लागेर ज्यान गएको हो।
घरदेखि करिब तीन सय मिटर पूर्व आफ्नै खेतमा काम गरिरहेका डगौरा चट्याङ लागेर घाइते भएका थिए।
उनको उपचारको क्रममा स्थानीय महापार्वती मेडिकलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ।
कैलालीकै भजनी नगरपालिका–६ महादेउली बस्ने ५५ वर्षीय रामबहादुर चौधरी चट्याङ लागेर घाइते भएका छन्।
त्यस्तै विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनीका तीन बालिकाहरू चट्याङ लागेर घाइते भएका छन्।
गम्भीर घाइतेमध्ये एक बालिकाको चट्याङ लागेर आन्द्रा बाहिर आएको छ भने दुई बालिकाको टाउकोमा चोट लागेका प्रहरीले जनाएको छ।
उनीहरूलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ।
Leave a Reply