कांग्रेस प्रदेस सभापतिहरूको गुनासो : चुनावमा अन्तर्घात रोकिएन

काठमाडौं- नेपाली कांग्रेसका प्रदेस सभापतिहरूले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकजुट हुनुपर्ने बताएका छन्।

ललितपुरको गोदाबरीमा महासमिति बैठकमा छलफलका लागि विभाजन गरिएका चार समूहबाट आएको सुझाव पेस गर्दै उनीहरूले यस्तो बताएका हुन्।

प्रदेससभापतिहरूले विगतमा गठबन्धन गर्दा कांग्रेसले नयाँ मतदातालाई आकर्षित गर्न नसकेको बताउँदै आगामी निर्वाचन एक्लै लड्ने गरी तयारी गर्नुपर्ने उल्लेख गरे।

मधेस प्रदेसका सभापति कृष्ण यादवले महासमिति सदस्यले निर्वाचनका समयमा बढ्दो अन्तर्घात घटाउनसके पार्टी बलियो हुँदै जाने बताए।

चुनावमा टिकट वितरणलाई पादर्शी बनाउनुपर्ने उनको भनाइ थियो।

‘टिकट नपाएका साथीहरूले नै अर्को साथीलाई हराउन लागेकाले अन्तर्घात बढेको छ,’ उनले भने।

कांग्रेसमा युवा पुस्ताको आकर्षण घट्दै गएको विषयमा मधेस प्रदेसका महासमिति सदस्यले छलफलमा उठाउनुभएको यादवले बताए।

‘महाधिवेशनको फरक दुई–दुई वर्षको गराउनुपर्दछ। यसले सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ भन्ने आवाज उठेको छ,’ उनले भने।

सभापति यादवले मधेसमा कांग्रेस ठूलो पार्टी भए पनि सरकारको नेतृत्व लिन नसकेको गुनासो पनि आएको बताए।

बागमती प्रदेसका सभापति इन्द्र बानियाँले किसानलाई आधुनिक कृषितर्फ प्रोत्साहन गर्नुपर्ने, जनताका दैनिक समस्यालाई समाधानको पहल गर्नुपर्ने, सरकार र पार्टीबीच समन्वय गराउनुपर्ने, शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्नुपर्नेलगायतका माग उठेको बताए।

कोसीका सभापति उद्धव थापाले पार्टीलाई बलियो बनाउने र आगामी निर्वाचनमा पहिलो बन्ने गरी जानुपर्ने विषय उठेको जानकारी दिए।

पार्टीले युवा आकर्षण बढाउन नसकेको र गठबन्धनको विषय अहिले नै निर्णय गर्ने समय नभएको विषय पनि छलफलका क्रममा उठेको उनले बताए।

सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले विपक्षीबाट घेराबन्दीमा परेका बेलामा महासमिति सदस्यले पार्टी र देशको चिन्ता तथा चासोको विषयमा छलफल भएको जानकारी दिए।

लुम्बिनीका सभापति अमरसिंह पुनले तीन तहका सरकारले संविधानले दिएको अधिकारका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्नेबारे छलफल भएको बताए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *