इलाम र बझाङमा मतदान सुरू, रातिदेखि मतगणना

जनकपुरधाम- इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर– २ र बझाङ क्षेत्र नम्बर १ (क) मा प्रदेससभा सदस्यका लागि मतदान सुरू भएको छ।

नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो।

त्यस्तै कांग्रेसबाट निर्वाचित प्रदेससभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि बझाङ क्षेत्र नम्बर १ (क) मा उपनिर्वाचन हुँदैछ।

निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ।

दुवै निर्वाचन क्षेत्रमा मतदानका लागि मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ। भोट खसाल्न मतदाताहरू तोकिएका मतदान केन्द्रमा बिहानैदेखि लाम्बद्ध भएका छन्।

इलाम–२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तोकिएका छन्। यो क्षेत्रमा कुल १ लाख १५ हजार ८८९ मतदाता छन्।

इलाम–२ मा विभिन्न राजनीतिक दल गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यो क्षेत्रमा १२ जना उम्मेदवार राजनीतिक दलका तर्फबाट र ७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा कांग्रेसबाट डम्बरबहादुर खड्का, एमालेबाट सुवाषचन्द्र नम्वाङका छोरा सुहाङ नेम्वाङ, रास्वपाबाट मिलनकुमार योहाङ लिम्बुले उम्मेदवारी दिएका छन्।

त्यस्तै राप्रपाबाट लक्ष्मी गुरुङ, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ र नेकपा(एकीकृत समाजवादी) बाट जितबहादुर राई प्रतिस्पर्धा गरिरहेका छन्।

बझाङ १(क) मा ७४ वटा मतदानस्थलमा ९३ मतदान केन्द्र तोकिएको छ।

यो क्षेत्रको चुनावमा सातवटा पालिका पूरै र थलारा गाउँपालिकाको वडा नम्बर ९ का मतदाता चुनावमा भाग लिनेछन्।

बझाङ १(क) मा ६१ हजार ७४८ मतदाता छन्। मतदानपछि सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याउने तयारी छ। साइपाल गाउँपालिकालगायतका विकट क्षेत्रबाट हेलिकप्टरले मतपेटिका ल्याइने बताइएको छ।

११ जना उम्मेदवार रहेको यो क्षेत्रबाट कांग्रेसका अभिषेकबहादुर सिंह, एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढा र नेकपा(एकीकृत समाजवादी) का दिलबहादुर सिंह उम्मेदवार छन्।

कांग्रेसका अभिषेकबहादुर निधन भएका प्रदेससभा सदस्य पृथ्वीबहादुरका जेठा छोरा हुन्।

निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा आजै मतगणना गर्ने तयारी गरेको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *