आज जानकी नवमी, श्रद्धापूर्वक मनाइँदै

जनकपुरधाम- आज वैशाख शुक्ल नवमी। अर्थात माता सीताको जन्मदिन। जनक नन्दनी सीताको जन्म दिनको सम्भनामा श्रद्धा एवं उल्लासपूर्वक जानकी नवमी मनाइँदै छ।

जानकी नवमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ।

जानकी मन्दिरमा पूजाआजा गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू जनकपुरधाम पुगेका छन्।

जानकी नवमीको अवसर पारेर जानकी मन्दिरले विभिन्न धार्मिक कार्यक्रमहरूको आयोजना गरेको छ।

त्रेतायुगमा वैशाख शुक्ल नवमीका दिन सीताको जन्म राजा जनकको छोरीको रूपमा जनकपुरधाममा भएको पौराणिक मान्यता रहेको छ।

यस अवसरमा जानकी मन्दिरले धार्मिक प्रचन, सांस्कृतिक कार्यक्रम, झाँकीलगायतका कार्यक्रमहरूको आयोजना गरेको उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए।

उनले जानकी नवमीलाई भव्यता प्रदान गर्न विभिन्नखाले धार्मिक कार्यक्रमहरूको आयोजना गरिएको बताए।

जानकी नवमीका अवसरमा प्रदेस सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ।

सीतालाई राष्ट्रिय विभूतिको मान्यता दिइए पनि जानकी नवमीले अझै राष्ट्रिय पर्वको मान्यता पाउन नसकेकोमा जनकपुरधामका स्थानीय बासिन्दाको दुखेसो छ।

जानकी नवमीका दिन देशैभर सार्बजनिक बिदा दिएर राष्ट्रिय पर्वको रूमा मनाइनुपर्ने उनीहरूको भनाइ छ।

जानकी नवमीका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी दुधमती नदीमा स्नान गरी पूजाआजा गर्ने परम्परा रहेको छ।

त्रेतायुगमा सीताले पनि दुधमती नदीमा स्नान गर्ने गरेको मान्यता रहेको छ।

जानकी नवमीका अवसरमा राजनीतिकर्मी, नेपाल तथा भारतका साधुसन्तलगायतलाई निमन्त्रणा पठाइएको जानकी मन्दिरले जनाएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *