११९ रनमात्रै बनाएर भारतले कसरी हरायो पाकिस्तानलाई?

जनकपुरधाम- टि–२० विश्वकपको समूह चरणको खेलमा भारतले केवल ११९ रन बनाएर पाकिस्तानलाई ६ रनले पराजित गरिदिएको छ।

न्युयोर्कको नसाऊ काउन्टी इन्टरनेसनल स्टेडियममा भएको खेलमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर भारतलाई पहिले ब्याटिङका लागि निम्तो दिए।

८ ब्याटरलाई उत्रिएको भारतीय टिम १९ औं ओभरमा अलआउट भयो। विश्वकपमा पाकिस्तानविरूद्ध भारतीय टिम अलआउट भएको यो पहिलोपटक हो।

म्याचपछि भारतका कप्तान रोहित शर्माले आफूहरूले राम्रो ब्याटिङ गर्न नसकेको स्वीकार गरे।

१४० रनको प्रस्तुत गर्न सकिएको भए प्रतिस्पर्धा गर्न सहज हुने उनको भनाइ थियो।

यसका बाबजुद भारतीय टिम आफ्नो टि–२० क्रिकेटको इतिहासमा पहिलोपटक यति कम योगफललाई ‘डिफेन्ड’ गर्दै पाकिस्तानलाई माथ दिन सफल भयो।

ब्याटिङमा खासै राम्रो प्रदर्शन गर्न नसकेको भारतीय टिमलाई बलरहरूले जितसम्म पु¥यायो। र, नायक बने जसप्रित बुमराह।

बुमराहको घातक बलिङ

स्कोर बोर्डमा भारतको कुल स्कोर ११९ मात्र भएकोले यो म्याच पाकिस्तानले जित्ने पक्का रहेको धेरैलाई लागेको थियो।

प्रक्षेपणमा पनि ९२ प्रतिशत पाकिस्तान र ८ प्रतिशत भारतले जित्ने सम्भावना देखाइएको थियो।

तर, भारतका बलरहरूको चातुर्यपूर्ण बलिङले पाकिस्तानको हातबाट अन्ततः जित खोस्यो।

प्लेयर अफ द म्याच भएका बुमराहले भने,‘यो म्याच जितेर ज्यादै खुसी छु। हाम्रो स्कोर एकदम कम थियो, बलिङमा अनुशासित रहनुपर्ने थियो। यो प्रदर्शनबाट हामीलाई खुसी दिएको छ।’

चोटका कारण अघिल्लो विश्वकप गुमाएका बुमराह यसपालि टिमका लागि ‘पिलर’ बनेर उभिएका छन्।

पाकिस्तानविरूद्धको खेलमा बुमराहले चार ओभरमा केवल १४ रन दिए र तीन विकेट लिए। यसका साथै उनको १५ डट बलले पनि भारतलाई जितको नजिकसम्म पु¥याउन मद्त ग¥यो।

पाँचौंं ओभरमा बुमराहले भारतलाई पहिलो सफलता दिलाए। तर, १५ औं ओभरको पहिलो बलमै क्रिजमा जमिसकेका मोहम्मद रिजवानलाई बोल्ड गरे।

रिजवान आउट भएसँगै खेलमा पाकिस्तान फर्किन सकेन। रिजवानको विकेट म्याचको ‘टर्निङ प्वाइन्ट’ सावित भयो।

यहाँबाट भारत जिततर्फ अगाडि बढिरहेको थियो भने पाकिस्तान हारतर्फ।

पाकिस्तानको रनको गति अचानक रूक्यो र दबाब प्रष्ट देखिन्थ्यो।

अन्तिम चार ओभरमा पाकिस्तानलाई जितका लागि ३५ रन चाहिएको थियो। टि–२० क्रिकेटमा यो ठूलो चुनौती थिएन।

तर, पाकिस्तान टिम लक्ष्यसम्म पुग्न सकेन।

हार्दिक पान्ड्याले १७ औं ओभरमा शादाब खानलाई आउट गरे। उनको खातामा दुई विकेट गयो।

१९ ओं ओभरमा बुमराहले इफ्तिखार अहमदलाई आउट गरेर पाकिस्तानको जितमाथि धावा बोले।

अन्तिम ओभरको पहिलो बलमै अर्शदीप सिंहले पाकिस्तानलाई सातौं झड्का दिए।

अन्तिम ओभरमा पाकिस्तानलाई जितका लागि १८ रन चाहिएको थियो। नसिम शाहले दुई चौका लगाए। तर, यो जितका लागि पर्याप्त थिएन।

र, अन्त्यमा कम स्कोर पछ्याएको पाकिस्तान ६ रनले पराजित भयो।

समूह चरणको खेलमा पाकिस्तानको यो लगातार दोस्रो हार हो। यसअघि अमेरिकाले पाकिस्तानलाई हराएर ठूलो उलटफेर गरिदिएको थियो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *