जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुरधाम ल्याइएको छ।
मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ परेका सिरोहियालाई प्रहरीले रातारात जनकपुरधाम ल्याएको हो।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो।
थापाथलीबाट मीनभवनस्थित अपराध अनुसन्धान कार्यालय लगिएका सिरोहियालाई प्रहरीको गाडीबाट जनकपुरधाम ल्याइएको हो।
धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले बुधबार बिहान उनलाई जनकपुरधाम ल्याइएको जानकारी दिए।
सिरोहियालाई आजै अदालतमा पेस गरिने उनले बताए।
जिल्ला अदालत धनुषाले सिरोहियालाई पक्राउ गर्न मंगलबार प्रहरीलाई अनुमति दिएको थियो।
जिल्ला अदालतबाट अनुमित पाएसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो।
सिरोहियाको नागरिकतामा उल्लेखित नम्बर अर्कै व्यक्तिको रहेको पाइएपछि गत वैशाख तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो।
उनीविरूद्ध सर्लाहीका इन्द्रजीतप्रसाद महतोले प्रहरीमा उजुरी दिएका थिए।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाले भने त्यो उजुरीको खन्डन गर्दै आवश्यक भए अनुसन्धान गर्न चुनौती दिएका थिए।
उजुरीका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धान अघि बढेसँगै प्रहरीले सिरोहियालाई पक्राउ गर्न मंगलबार अदालतबाट अनुमति मागेको थियो।
सिरोहियाले हिमालय रि–इन्स्योरेन्स कम्पनीको सेयर लगत लिने क्रममा उद्योग विभागमा दिएको निवेदनसहितको कागजातमा नागरिकता नम्बर २८३९८८८६ उल्लेख गरेका थिए।
तर, उनले २०३३ सालमा जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्राप्त गरेको नागरिकताको नम्बर ३९६९८८८६ थियो। जसको पहिलो प्रतिलिपि उनले २०५७ सालमा निकालेका थिए।
सिरोहियासँग भएको नागरिकताको नम्बर धनुषाका शिवजी साहु तेलीको नाममा पनि जारी भएको पाइएको छ।
शिवजी र सिरोहिया दुवैको नागरिकता नम्बर एकै रहेको विवरण मतदाता नामावलीमा पनि उल्लेख भएको पाइएको छ।
एउटै नागरिकता नम्बर दुई जनाको पाइएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया अनुसन्धानको दायरमा परेका हुन्।
Leave a Reply