जनकपुरधाम- नागरिकता किर्ते गरेको अभियोगमा पक्राउ परेका कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं पठाइएको छ।
प्रहरीको न्यायिक हिरासतमा रहेका सिरोहियालाई सिम्रिक एयरको हेलिकप्टरबाट ‘एयरलिफ्ट’ गरेर काठमाडौं पठाइएको हो।
८ जेठमा पक्राउ परेका उनी हाल जनकपुरधाम–९ स्थित काव्या अस्पतालमा उपचाररत थिए।
अस्पतालका डा.एसके सिंह र डा.पंकजकुमार साहले सिरोहियालाई एयरलिफ्ट गरेर काठमाडौं लैजान सिफारिस गरेका हुन्।
अदालतको अनुमतिपछि प्रहरीले उनलाई थापाथलीस्थित कार्यालयबाट पक्राउ गरेर जनकपुरधाम ल्याएको थियो।
जिल्ला अदालत धनुषाले अनुसन्धानका लागि सिरोहियालाई हिरासतमा राख्न तीनपटक म्याद थप गरेको छ।
दोस्रोपटक म्याद थपेकै दिन साँझ रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई काव्या अस्पताल भर्ना गरिएको थियो।
सोमबार तेस्रोपटक अदालतमा उपस्थित गराइँदा उनलाई एम्बुलेन्समै लगिएको थियो।
अदालतले तीन दिनको म्याद थप्दै स्वास्थ्य अवस्था प्रतिकूल देखिए नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका चिकित्सकबाट परीक्षण गर्न आदेश दिएको थियो।
अदालतको यही आदेश टेक्दै अस्पतालले सिरोहियालाई एयरलिफ्ट गरेर काठमाडौं लग्न सिफारिस गरेको छ।
Leave a Reply