जनकपुरधाम- कान्तिपुरम मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीविरूद्ध जनकपुरधाममा प्रदर्शन भएको छ।
सिरोहियालाई रिहा गर्न माग गर्दै नेपाल तरुण दल, नेविसंघ र नागरिक समाजले बुधबार प्रदर्शन गरेको हो।
तरुण दल र नेविसंघले पिडडिया माइस्थानस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट निकालेको विरोध जुलुस नगरको विभिन्न भाग हुँदै जिल्ला प्रहरी कार्यालयसम्म पुगेको थियो।
विरोध प्रदर्शनमा सहभागी तरुण दलका केन्द्रीय सदस्य मानवेन्द्र निधिले प्रतिशोध साँध्न सिरोहियामाथि नागरिकता किर्ते गरेको आरोप लगाएको बताए।
अहिले सांकेतिक विरोध प्रदर्शन गरेको बताउँदै उनले सिरोहियालाई यथाशीघ्र रिहा नगरिए सशक्त आन्दोलन गर्न आफूहरू बाध्य हुने बताए।
त्यस्तै नागरिक समाजले जनकपुरधाम उद्योग वाणिज्य संघबाट विरोध र्याली निकालेको छ।
सिरोहियालाई रिहा गर्न माग गर्दै नागरिक समाजले विरोध र्याली निकालेको हो।
विरोध ¥यालीमा उद्योग वाणिज्य संघका पदाधिकारी, जनकपुरधामका पूर्वमेयर, उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको थियो।
काठमाडौंको थापाथलीस्थित कार्यालयबाट मंगलबार साँझ पक्राउ परेका सिरोहियालाई जनकपुरधाम लगिएको छ।
बुधबार बिहान जनकपुरधाम पुगेका उनलाई प्रहरीले अहिले जिल्ला अदालत धनुषामा उपस्थित गराएको छ।
सिरोहियाले फरक–फरक नागरिकता प्रयोगगरी किर्ते गरेको आरोप लगाउँदै सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय धनुषामा गत वैशाखमा जाहेरी दिएका थिए।
जाहेरीमाथि छानबिन गरी प्रहरीले सिरोहियालाई पक्राउ गरेको हो।
Leave a Reply