जनकपुरधाम- मधेस प्रदेस सप्तरी जिल्ला विष्णुपुर गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले ८ महिनादेखि तलब पाएका छैनन्।
पालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूले गत साउनदेखि हालसम्मको तलब नपाएका हुन्।
साउन महिनादेखि नै तलबविहीन हुन पुगेका शिक्षक कर्मचारीहरू गत आइतबारदेखि आन्दोलनमा उत्रिएका छन्।
उनीहरू विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्।
शिक्षक तथा कर्मचारीहरूले तलब भत्ताको माग गर्दै सुरू गरेको आन्दोनलनप्रति नेपाल शिक्षक संघ मधेस प्रदेसले ऐक्यबद्धता जनाएको छ।
संघका महासचिव विनयकुमार झाले विज्ञप्ति निकालेर शिक्षकहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै यथाशीघ्र माग पूरा गर्न माग गरेका छन्।
‘…अविलम्ब शिक्षकहरूको माग पूरा गरी पठनपाठनको वातावरण निर्माण गर्न गराउन सरोकारवाला पक्षसँग नेपाल शिक्षक संघ मधेस प्रदेस जोडदार माग गर्दछ,’ झाले निकालेको विज्ञप्तिमा भनिएको छ।
भएको के हो?
विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव हाल निलम्बित छन्। सोलार बत्ती जडान योजनाको भुक्तानीवापत घुस मागेको सम्बन्धमा विशेष अदालतले म्याद थप गरी थुनामा राखेसँगै उनी निलम्बनमा परेका हुन्।
लेखापाल र एमआइस अपरेटरलाई घुस रकम लिन पठाएको विषयमा सोधपुछ र अनुसन्धानका लागि अध्यक्ष यादवलाई भदौ ६ गते अख्तियारले नियन्त्रणमा लिएको थियो।
अध्यक्ष यादव निलम्बनमा परेपछि उपाध्यक्ष रेणुकुमारी यादवले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छन्।
गाउँपालिकामा अल्पमत र बहुमतको विवादका कारण पालिकामा कार्यरत शिक्षक तथा कर्मचारीहरूको तलब रोकिएको हो।
प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्द परिषदबाट भएका निर्णयहरू आफूले नपाएपछि चेक नकाटेको बताए।
‘भुक्तानीका लागि अख्तियारी दिनुभएको छ, तर परिषदले गरेका निर्णयहरूको कागजात आइसकेको छैन,’ उनी भन्छन्,‘परिषदका निर्णय आफूले नपाएसम्म कसरी चेक काट्ने? काट्नै मिल्दैन।’
परिषदले गरेक निर्णयहरूमा सहमति जुटाउन आफूले प्रयास गरे पनि सम्भव हुन नसकेको उनको भनाइ।
३८ जना गाउँपालिका सदस्यमध्ये बहुमतका लागि २० जनाको सहमति चाहिए पनि १८ जनाले मात्रै हस्ताक्षर गरेको बताइएको छ।
‘बहुमतले गरेको निर्णय मैले नपाएसम्म अख्तियारी पाए पनि चेक काट्न मिल्दैन। उहाँहरूले निर्णय नदिइ चेक काट्न भन्नु भएको छ। त्यो गर्नै मिल्दैन,’ आनन्दले भने।
तलब नाएर शिक्षक तथा कर्मचारीहरू आन्दोलनमै रहेका बेला प्रमुख प्रशासकीय अधिकृत आनन्दको विष्णुपुर गाउँपालिकाबाट सरूवा भएको छ।
उनको सप्तरीकै छिन्नमस्ता गाउँपालिकामा सरूवा भएको हो।
Leave a Reply