
दुर्घटनापछि कर्मचारीहरू सबार जिप
जनकपुरधाम- सर्लाहीको मलंगवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
मलंगवा नगरपालिका–१० गम्हरियास्थित चमेलीमाई मन्दिर नजिक सोमबार राति दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु भएका र घाइतेहरू सबै नापी कार्यालय मलंगवाका कर्मचारीहरू हुन्।
दुर्घटनामा परी गम्भीर घाइते भएका नापी कार्यालयका कर्मचारी सर्लाही बागमती नगरपालिकाका ४५ वर्षीय विनोद घिमिरेको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपेन्द्र पञ्जिायरले घिमिरेको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए।
अन्य घाइतेहरूको बारास्थित एलेक्स न्यूरो अस्पताल बारा, वीरगञ्जस्थित बयोधा र नेसनल मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए।
दुर्घटनामा नापी कार्यालयका प्रमुख काभ्रे बनेपा उपमहानगरपालिका घर भएका ४५ वर्षीय सञ्जय मानन्धर, महोत्तरीका ३० वर्षीय बैजु यादव, मलंगवा नगरपालिका–३ का ३५ वर्षीय रामलाल साह, सर्लाही कौडेना गाउँपालिका–२ का २४वर्षीय सन्जित मण्डल र महोत्तरी एकडारा गाउँपालिका–२ का ३० वर्षीय रिटेन यादव घाइते भएका छन्।
त्यस्तै मलंगवा–३ का ५० वर्षीय वैधनाथ पटेल, मलगंंवा–७ का ३४ वर्षीय रामबाबु राय, धनुषा सहिदनगर नगरपालिका–७ का २९ वर्षीय दीपेन्द्र यादव, बारा कलैया उपमहानगरपालिका–२० का २४ वर्षीय शहीद अनवर र महोत्तरीका २५ वर्षीय अजय यादव घाइते छन्।
बीआर ०६ पीडी ९६४८ भारतीय नम्बर प्लेटको सफारी गाडीमा सवार भएर नापी कार्यालयका कर्मचारीहरू मलंगवाबाट नवलपुरतर्फ जाने क्रममा दुर्घटना भएको हो।
प्रहरीका अनुसार उनीहरू सबै जना नापी कार्यालयका एक कर्मचारीको पारिवारिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गइरहेका थिए।
नापीका कर्मचारीहरू सवार सफारी गाडी उखु बोकेर जाँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरलाई पछाडि ठक्करदिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
Leave a Reply