काठमाडौं- लघुवित्तका ऋणी संसद भवन छिरेर प्रदर्शन गरेको विषयमा प्रहरीले छानबिन समिति बनाएको छ।
उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा प्रहरीले तीन सदस्यीय छानबिन समिति बनाएको हो।
समितिमा काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारी सदस्य रहेका छन् भने एक जना डिएसपीलाई पनि सदस्य राखिने बताइएको छ।
सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभा बैठक चलिरहेको बेला लघुवित्त ऋणीहरू परिसरमै पुगेर नाराबाजी गरेका थिए।
लघुवित्त ऋणीहरू निषेधित क्षेत्र तोडेर संसद भवन परिसरभित्र प्रवेश गरेका थिए।
निषेधित क्षेत्र तोड्ने ४९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारले संसद वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।
लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका ऋणीहरू काठमाडौंमा आन्दोलन गर्न आएका हुन्। आन्दोलनकै क्रममा उनीहरू सोमबार प्रतिनिधिसभा परिसरभित्र प्रवेश गरेका थिए।