काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने बताएको छ।
सोमबार बिहान बसेको संसदीय दलको बैठकले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म संसदलाई कार्यसूचीमा प्रवेश गर्न नदिने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने निर्णय भएको बताए।
संसदीय समितिको गठन आफूहरूको ‘बटमलाइन’ भएको बताउँदै उनले यो नबनेसम्म प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रक्रियालगायत अन्य कार्यसूचीमा प्रवेश गर्न नदिने उल्लेख गरे।
‘समिति बनाएर सदनमा आउनुहोस्। रवि लामिछानेमाथि अनुसन्धान गर्नुहोस्। विश्वासको मतमात्रै होइन सरकारका जति कार्यसूची छन् राति १२÷१ बजेसम्म सदन चलाउनुहोस् हामी तयार छौं,’ लेखले भने,‘प्रधानमन्त्रीलाई इज्जतका साथ विश्वासको मत लिनुछ भने पहिला समिति बनाउनुहोस्।’
सहकारी बचकर्ताको रकम अपचलन गरेको भन्दै कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय बनाउन माग राख्दै सदनमा अवरोध गर्दै आएको छ।
संसदीय समिति बनाउन सत्तापक्ष र प्रतिपक्ष सहमत भए पनि कार्यदेशमा सहमति जुट्नसकेको छैन।
Leave a Reply