काठमाडौं- सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्।
संसदको आगामी अधिवेशन सुरू हुनुअघि सहमतिको प्रयासस्वरूप सभामुख घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन्।
बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफलका लागि शीर्ष नेताहरूलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ।
घिमिरेले छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई बोलाएका छन्।
सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछाने संलग्न भएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर संसदको बैठक अवरोध गरेको थियो।
लामिछानेमाथि छानबिन गर्न सरकारले संसदीय समिति नबनाएसम्म संसद चल्न नदिने अडान कांग्रेसले लिएको छ।
कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुख घिमिरेले आगामी अधिवेशन सुरू हुनुअघि प्रमुख दलका शीर्ष नेताहरूबीच सहमतिका लागि पहल थालेका हुन्।
Leave a Reply