काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले महासमिति बैठकले पार्टीभित्र एकताको सन्देश प्रवाह गरेको बताएका छन्।
बिहीबार महासमिति बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
निधिले बन्दसत्रमा भएका तितामिठा कुरा छाडेर राम्रा कुरामात्रै लिएर जान सबैलाई अनुरोध गरे।
‘बन्दसत्रमा भएका तितामिठा कुरा छाडेर जाऔं, यहाँका राम्रा कुरा लिएर जाऔं,’ उनले भने, ‘प्रस्तावमा केन्द्रीय समितिले थपघट गर्छ नै, हामी भनौं कि नेपाली कांग्रेस एक भएर आएको छ।’
एकताका लागि राष्ट्रियता, लोकतन्त्र, समाजवाद, संघीयता, गणतन्त्र, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, अहिंसा र शान्ति, धर्मनिरपेक्षता ९ वटा सुत्र रहेको उनले जिकिर गरे।
निधिले व्यक्ति र गुटको आधारमा नभएर विचार र सिद्धान्तको आधारमा एक भएको सन्देश बोकेर जानुपर्ने प्रष्ट पारे।
उनले महासमिति बैठकबाट फर्किएर जाँदा २०८४ को ध्येय लिएर जान आग्रह गरे।
‘अहिले २०८० छ, म साथीहरूलाई उत्साह र विश्वासको साथ आग्रह गर्न चाहन्छु, यहाँबाट फर्केर जाँदा २०८४ मा हुने आम चुनावमा नेपाली कांग्रेसलाई बहुमतमा ल्याउनका लागि र त्यसपछि गठबन्धनको होइन नेपाली कांग्रेस एक्लैको सरकार बनाउन सम्पूर्ण शक्ति र उत्साह लिएर जानुस्,’ निधिले भने।
२०८१ देखि २०८४ सम्म कांग्रेसका लागि महत्वपूर्ण भएको बताउँदै उनले मन लागे पनि नलागेपनि तयार भएर जानै पर्ने उल्लेख गरे।
नेता निधिले आफूहरूले बनाएको शासन प्रणालीले पूर्णता पाउन नसकेको जिकिर गरे।
उनले भने, ‘हामीले जुन शासन प्रणाली बनायौं त्यसले पूर्णता पाउन सकेको छैन। सातवटै प्रदेसका मुख्यमन्त्रीहरूले प्रहरी संगठन हुनुपर्छ भनेर आन्दोलनको अभिव्यक्ति दिइरहनु भएको छ। निजामती कर्मचारी हुनुपर्छ भनेर भनिरहनु भएको छ। स्थानीय तह पनि सिंहदरबार धाएको छ।यसलाई अन्त्य गर्नुपर्नेछ।’
नेपाली कांग्रेस यो प्रणालीलाई पूर्णता दिने पक्षमा रहेको बताउँदै उनले यो सन्देश जनजनमा पुर्याउन आग्रह गरे।
Leave a Reply