काठमाडौं- सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका विरोधका बीच पेलेर सदनको कार्यबाहीलाई अगाडि बढाएका छन्।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको नाराबाजीका बीच सभामुख घिमिरेले सदनको कार्यबाही अगाडि बढाएका हुन्।
सभमुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्न समय दिएपछि कांग्रेस सांसदहरू सिटबाट उठेर नाराबाजीमा उत्रिएका थिए।
कांग्रेको नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले संसदमा नीति तथा कार्यक्रमको प्रति टुबुल गरेका छन्।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले जेठ १ गते संसदको संयुक्त बैठकमा पेस गरेका थिए।
नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पनि नाराबाजीबीच बहुमतले पारित भएको सभामुख घिमिरेले घोषणा गरे।
नीति तथा कार्यक्रममाथि छलफल गर्न समय निर्धारण गरिएको छ।
यसैगरी बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ पेस गरेका छन्।
बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका छन्।
उक्त प्रस्ताव बहुमतले पारित भएको सभामुख घिमिरेले घोषणा गरेका छन्।
प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बोलाइएको छ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले संसदमा अवरोध जनाउँदै आएको छ।
संसदीय छानबिन समिति गठन गर्न सत्तापक्ष र प्रतिपक्षी सहमत भए पनि समितिको कार्यदेशमा टुंगो लाग्न सकेको छैन।
समिति गठन नभएसम्म कांग्रेसले संसदमा अवरोध जारी राख्ने बताएको छ।
Leave a Reply