काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले प्रतिनिधिसभा बैठकमा बजेट पुस्तिका च्यातेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधनका लागि रोस्टममा पुगेका लिङ्गदेनले भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन्।
विनियोजन विधेयक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव र बजेटमाथि छलफलका क्रममा उनले बजेट पुस्तिका च्यातेका हुन्।
भौतिक पूर्वाधार मन्त्रालयले बजेट वितरणमा भेदभाव गरेको उनको आरोप थियो।
लिङ्गदेनले बजेट मन्त्री र प्रधानमन्त्रीको गोजी र चिटकटोबाट आएको भन्दै विरोध गरे।
कसैको क्षेत्रमा एउटा पनि योजना नपरेको र कुनै निर्वाचन क्षेत्रमा अर्बौंको योजना पारेर भौतिक मन्त्रालयले बजेट विनियोजन गरेको उनले बताए।
उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई प्रश्न गर्दै उनले भने,‘कसैको क्षेत्रमा तपाईंको मन्त्रालयबाट एउटा पनि योजना परेको छैन, एउटा निर्वाचन क्षेत्रमा अर्बौं पर्नुपर्ने के कारण हो? कुन विधि? कुन तरिकाले हो? यो कुरा भन्नुप¥यो?’
लिङ्गदेनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका हातमा परेकै दिनदेखि आक्रोशित बनेको जिकिर गरे।
‘बजेट पुस्तिका परेकै दिनदेखि म यसरी तात्तिएको छु कि म यो यसरी (च्यात्दै), यसरी हुत्याउने मन छ। तर, संसदीय मर्यादाविपरित हुन्छ भनेर कहाँ हुत्याउँदा हुन्छ यहाँ राखें,’ उनले भने।
लिङ्गदेनले जिल्लाको नामसमेत नराखेर योजना राखिएको उल्लेख गरे।
‘सामान्य लाज घिन पनि नराखेर राज्य स्रोतमाथि मनपरी कति दिनसम्म मानिसहरूले सहेर बस्ने हो? यो देख्छन्, पढछ्न भनेर जिल्लाको नाम छापेर धेरै देखिन्छन् भनेर जिल्लाको समेत नाम नराखि योजना राखिएको छ,’ उनले भने।
Leave a Reply