काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल मंंगलबार साँझ स्वीटजरल्यान्डको जेनेभा जाने भएका छन्।
अन्तर्राष्ट्रिय सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पौडेल त्यसतर्फ जान लागेका हुन्।
उनले ३१ जेठमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उदघाटन मञ्चालाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यसअघि ३० जेठमा राष्ट्रपति पौडेलको स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
नेपालका राष्ट्रप्रमुख र स्वीस महासंघका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक हो।
भ्रमणकै कार्यक्रममा राष्ट्रपति पौडेलको १ असारमा जेनेभाबाट संघीय गणतन्त्र जर्मनीको बर्लिन जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनी जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा जान लागेका हुन्।
पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल पनि हुनेछिन्।
प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीटजरल्यान्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन्।
राष्ट्रपति पौडेलको ५ असारमा स्वदेश फर्कने कार्यक्रम रहेको छ।
Leave a Reply