काठमाडौं- राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन्।
सोमबार राष्ट्रियसभा गृहमा पत्रकार सम्मलेन गरेर वरिष्ठ नेतासमेत रहेका महतोले लोसपा छोडेको घोषणा गरेका हुन्।
लोसपालगायतका पुराना परमपरावादी पार्टीहरूबाट मुलुक र जनताको उभो नलाग्ने निष्कर्ष निकालेर आफूूले पार्टी छोडेको उनले बताए।
महतोले लोसपा छाडे पनि नयाँ पार्टीको भने घोषणा गरेका छैन। अहिले सुरू गरिएको अभियान र जनताको आन्दोलनबाट चाँडै नयाँ पार्टीको घोषणा गर्ने उनको भनाइ छ।
महतोले तत्कालका लागि बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति अभियानमार्फत राजनीतिक गतिविधि अगाडि बढाउने भएका छन्।
मधेसवादबाट मात्रै केही नहुने भएको भन्दै उनले बहुलराष्ट्रिय राज्य स्थापनाको विकल्प नभएको जिकिर गरे।
‘मधेसवादबाट मात्रै केही भएन, त्योभन्दा ठूलो सबै अटाउनेगरी स्वदेशवादको अभियानमा लागेका छौं,’ उनले भने,‘मेरो पूर्वपार्टी, जसपा, कांग्रेसलगायत सबै दललाई यो अभियानमा जुट्न मेरो आग्रह छ।’
‘स्वदेश, बहुलराष्ट्रवाद, सामुदायिक समाजवाद’ को नारासहित लोसपा छाडेर अभियानमा उत्रिएका महतो तत्कालीन नेपाल सदभावना पार्टीलाई ब्युताउने तयारीमा रहेको बताइएको छ।
उनीनिकट नेताहरूका अनुसार अभियानमार्फत पुराना सदभावना पार्टीका नेता कार्यकर्तालाई एकजुट गरिनेछ।
लोसपा अध्यक्ष महन्थ ठाकुरले गत असोजमा केन्द्रीय समिति विस्तार गर्दा आफूनिकट नपरेको भन्दै महतो असन्तुष्ट बनेका थिए।
लोसपाले गत मंसिरमा आयोजना गरेको केन्द्रीय समिति बैठक बहिष्कार गरेका महतो पार्टी कार्यालय जानसमेत छााडेका थिए।
उनीसँगै केन्द्रीय समिति बहिष्कार गरेका लोसपाका अर्का नेता अनिल झा भने सोमबारको पत्रकार सम्मेलनमा उपस्थित थिएनन्।
Leave a Reply