जनकपुरधाम – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणस्थलको जग्गासम्बन्धी सम्झौता भंग गर्ने निर्णय फिर्ता लिने भएको छ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह र राखेपका सदस्य सचिव टंकलाल घिसिङबीच भएको वार्तामा गुठी संस्थान केन्द्रीय कार्यालयसँग सम्झौता भङ्ग गर्ने सम्झौता फिर्ता लिने सहमति भएको हो।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले गुठी संस्थानसँग सम्झौता भङ्ग गर्ने निर्णय राखेपले एक साताभित्र फिर्ता लिने सहमति भएको जानकारी दिए।
उनले मधेस प्रदेसकै गौरवको योजना रहेको रामजानकी बहुउद्दश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला तोकिएकै स्थानमा बन्ने बताए।
‘राखेपले सम्झौता भङ्ग गर्ने निर्णय फिर्ता लिन तयार भएको छ, एक साताभित्र उहाँहरूले गुठी संस्थानलाई पुनः पत्र पठाउनु हुनेछ,’ साहले भने,‘जनकपुरधाममा रङ्गशाला निर्माण हाम्रा लागि गौरवको विषय हो। मधेस प्रदेस र जनकपुरधामका खेलाडीहरूको विकासका लागि यो अपरिहार्य छ। तोकिएकै स्थानमा रङ्गशाला निर्माण हुन्छ।’
राखेपले गुठी संस्थानसँग सम्झौता भङ्ग गर्ने निर्णय गरेको विषय सार्वजनिक भएपछि मेयर साहले सक्रियता बढाएका थिए।
काठमाडौं पुगेर उनले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेपाका सदस्यसचिवलगायतलाई भेटेर सम्झौता भङ्ग गर्ने निर्णय फिर्ता लिइ रङ्गशाला निर्माणलाई निरन्तरता दिन अनुरोध गरेका थिए।
निरन्तरको प्रयासपछि आफ्नो प्राथमिकतामा रहेको रङ्गशाला निर्माणका लागि आएका समस्या लगभग अन्त्य भएको मेयर साहले बताए।
रङ्गशाला निर्माणका लागि गुठी संस्थानसँग लिजमा लिइएको जग्गासम्बन्धी सम्झौता राखेपले एकलौटीरूपमा भंग गर्ने निर्णय गरेको थियो।
गुठी संस्थान अधिनस्त जनकपुरधाम–१४ स्थित करिब १७ बिघा जग्गा राखेपले रङ्गशाला निर्माणका लागि वार्षिक ९ लाख भारा तिर्नेगरी गुठी संस्थान केन्द्रीय कार्यालयसँग २०७४ मंसिर १ मा सम्झौता गरेको थियो।
तर, रंङ्गशालाको पूर्वाधार निर्माणका लागि संघीय सरकारले चासो नदिएको भन्दै राखेपले गत वर्ष पुस ३ गते सम्झौता भङ्ग गर्न एकपक्षीय रूपमा गुठी संस्थानलाई पत्राचार गरेको थियो।
उपमहानगरपालिका तथा प्रदेस सरकारलाई समेत जानकारी नदिइ एकपक्षीयरूपमा सम्झौता भङ्ग गर्ने निर्णय राखेपको निर्णयको चौतर्फी आलोचना भएको थियो।
रङ्गशालाको पूर्वाधार निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाले लाखौं रकम लगानी गरिसकेको छ भने त्यहाँ महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता, मेयरकप क्रिकेट, राष्ट्रपति रनिङ शिल्डलगायतका प्रतियोगिताहरूको आयोजना भइसकेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा घोषणा गरेको सय करोड रूपैयाँको सहयोग पनि रङ्गशाला निर्माणका लागि खर्च गर्ने योजना बनाइएको छ।
Leave a Reply