मोदीले दिए राजीनामा

जनकपुरधाम- लोकसभा चुनावको परिणामपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्।

बुधबार राष्ट्रपति द्रौपदी मुर्मूलाई भेटेर मोदीले पदबाट राजीनामा दिएका हुन्।

राष्ट्रपति मुमूले उनको राजीनामा स्वीकार गरेकी छन्।

उनले नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हालिराख्न मोदीलाई आग्रह गरेकी छन्।

मंगलबार भएको लोकसभा चुनावको मतगणनामा मोदीको दल भारतीय जनता पार्टी (भाजपा) २४० र कांग्रेसले ९९ सिटमा जित हासिल गरेको छ।

त्यस्तै समाजवादी पार्टीले ३७ र तृणमूल कांग्रेसले २९ सिटमा जित प्राप्त गरेको छ।

अघिल्लो चुनावमा भाजपा एक्लैले ३०३ सिट जितेर बहुमतभन्दा बढी सिट प्राप्त गरे पनि यसपालि उसले सरकार बनाउन एनडिए गठबन्धनमा सामेल दलहरूको समर्थन लिनुपर्ने हुन्छ।

मोदी नेतृत्वको एनडिएले २९३ र कांग्रेस–समाजवादीलगायतका दलहरूको ‘इन्डिया’ गठबन्धनले २३४ सिट प्राप्त गरेको छ।

५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सांसदको समर्थन आवश्यक हुन्छ।

विपक्षी ‘इन्डिया’ गठबन्धन मोदीलाई रोक्न एनडिए गठबन्धनमा सामेल नितिश कुमार नेतृत्वको जनता दल युनाइटेड र चन्द्रबाबु नायडु नेतृत्वको तेलगू देशम पार्टीको साथ खोजिरहेको छ।

यद्यपि जनता दल युनाइटेड र तेलगू देशम पार्टीका नेताहरूले एनडिए गठबन्धनबाट नबाहिरिने बताएका छन्।

मोदीले आगामी ८ जुनमा सपथग्रहण गर्ने तयारी गरेको बताइएको छ।

सन् १९५२ मा भारतको पहिलो प्रधानमन्त्री एवं कांग्रेस नेता जवाहरलाल नेहरूपछि लगातार तीनपटक लोकसभा जितेर सरकारको नेतृत्व सम्हाल्ने मोदी पहिलो नेता हुनेछन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *