मुख्यमन्त्रीले आजै विश्वासको मत लिने!

जनकपुरधाम- मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार नै विश्वासको मत लिने भएका छन्।

अस्वस्थ्य भएको भन्दै प्रदेससभा सचिवालयलाई पत्र पठाए पनि यादव आजै विश्वासको मत लिने भएका हुन्।

२३ जेठमा विश्वासको मत लिने प्रयोजनका लागि बुधबार दिउँसो प्रदेससभा बैठक बोलाइएको थियो।

मुख्यमन्त्री यादवले आफू बिरामी भएको पत्र प्रदेससभा सचिवालयलाई पठाएपछि विश्वासको मत लिने वा नलिने अन्योलका बीच प्रदेससभा बैठक सुरू भएको थियो।

तर, सरकारका प्रतिनिधि उपस्थित नभएपछि सभामुख रामचन्द्र मण्डलले प्रदेससभा बैठक १० मिनेटका लागि स्थगित गरेका थिए।

नेपालको संविधानअनुसार मुख्यमन्त्रीको दल विभाजन भए वा सरकारको समर्थनमा रहेका दलहरूमध्ये कुनै एक दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

मुख्यमन्त्री यादवको दल जनता समाजवादी पार्टी (नेपाल) विभाजन भएको बुधबार ३० दिन पुगेको छ।

अशोक राईको नेतृत्वमा ७ जना सांसदले २३ वैशाखमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए।

आयोगले २४ वैशाखमा राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) लाई मान्यता दिएको थियो।

दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक व्यवस्थाबमोजिम मुख्यमन्त्री यादवले अन्ततः विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने तयारी भइरहेको प्रदेससभा सचिवालयले जनाएको छ।

जसपा नेपाल टुक्रिएसँगै मुख्यमन्त्री यादवको सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र समर्थन फिर्ता लिइ बाहिरिएको थियो।

त्यस्तै अर्को साझेदार दल नेकपा(एकीकृत समाजवादी) ले पनि मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

एकपछि अर्को गरी साझेदार दलहरूले साथ छाडेपछि मुख्यमन्त्री यादवको दल जसपा नेपाल एक्लिएको छ।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *