जनकपुरधाम- मिथिलाञ्चलकी महिलाहरू पति दिर्घायुको कामना गर्दै बिहीबारउल्लास एवं श्रद्धापूर्वक बटसावित्री पर्व मनाउँदै छन्।
जेठ महिनाको अमावस्याका दिन मनाइने यस पर्वमा विवाहित महिलाहरू पतिको दिर्घायुको कामना गर्दै श्रद्धापूर्वक पूजा पाठ गर्ने गर्दछन्।
यस अवसरमा महिलाहरु पोखरीको डिलमा रहेको बरको रूखमा पूजाआजा गर्ने गर्दछन्।
बटसावित्री पर्वको अवसरमा पूजाअर्चनागर्न जनकपुरलगायत आसपासका गाउँघरमा रहेका बरको रूखनजिक बिहानैदेखि ब्रतालु महिलाहरूको घुइँचो लागेको छ।
नवविवाहिताहरू एकदिन अगाडि नै चोखो भएर ‘अरबा अरबाइइन (शुद्ध)’ खानेकुरा खाने गर्दछन् भने बटसावित्री पर्व गर्ने सबै महिला नयाँ बस्त्र लगाइ बटसावित्रीको गीत गाउँदै समूहमा पूजा गर्न बरको रूख नजिक पुग्ने गर्दछन्।
बरको रूखनजिक पूजाआजा गर्न पुगेका महिलाहरू बटसावित्रीको कथासमेत सुन्ने गर्दछन्।
यो दिन बरको रूखलाई पूजा गर्नाले पतिको आयु लामो हुने विश्वास रहेको छ।
बटसावित्रीको पूजन समाग्रीका रूपमा मुख्य रूपले आँप, लिच्ची, मकैको लावा र दुध रहने गरेको छ।
विगतमा यस क्षेत्रका कायस्थ, ब्राह्मण र सोनार समूदायले मात्र मनाउने गरेको बटसावित्री पर्व विस्तारै अन्य समूदायले समेत श्रद्धापूर्वक मनाउन थालेका छन्।
विगतमा तराई क्षेत्रमामात्र मनाइने बटसावित्री पर्व काठमाण्डौैंसहित पहाडी जिल्लाहरुमा समेत मिथिलाञ्चल क्षेत्रकी विवाहिता महिलाहरु मनाउने गरेका छन्।
पौराणिक मान्यता अनुसार यस दिन मृत्यु देवले सावित्रीको पतिको प्राण लिने प्रयास गरेका थिए। तर सावित्रीले देखाएको मायाका कारण यमदूतले समेत उनको पतिको ज्यान लिन सकेनन्।
यसैकारण मिथिलाञ्चलका नारीहरु बटसावित्री पूजा गर्ने गर्दछन्।
बटको अर्थ बरको रूख जसको आयु लामो हुने भएकाले यो रूखको पूजा गरिए पतिको आयु लामो हुने पौराणिक मान्यता रहेको छ।
Leave a Reply