मन्त्रालय बाँडफाँट टुंग्याउन नयाँ गठबन्धनको बैठक बस्दै

काठमाडौं- प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसहितका दलको साथ लिएर नयाँ गठबन्धन बनाए पनि मन्त्री बाँडफाँटमा सहमति जुट्न सकेको छैन।

माओवादी केन्द्र, एमाले, रास्वपा र जसपासम्मलित नयाँ गठबन्धनमा मन्त्री बाँडफाँटमा सहमति जुट्न नसकेको हो।

नयाँ गठबन्धनमा मन्त्रीका विषयमा सहमति जुट्न नसकेपछि सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको हैसियतमा सपथग्रहण गरे।

एमालेका पद्म गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डोलेन्द्रप्रसाद अर्यालले सोमबार सपथग्रहण गरेका हुन्।

तीनै जना मन्त्रीको मन्त्रालय छुट्याइएको छैन।

गठबन्धन दलहरूबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री प्रचण्डले हाल सबै मन्त्रालय आफैंं सम्हालेका छन्।

प्रचण्डले नयाँ गठबन्धनमा नेकपा(एकीकृत समाजवादी) र जनमत पार्टीलाई पनि सामेल गराउन चाहेका छन्।

तर, एमालेले एकीकृत समाजवादी र जसपाले जनमतलाई रोक्न चाहेको बताइएको छ।

एकीकृत समाजवादी र जनमतलाई गठबन्धनमा सामेल गराउने वा नगराउने विषयमा सहमति जुट्न नसक्दा तत्काल मन्त्री बाँडफाँट नटुंग्याइएको बताइएको छ।

नयाँ सत्ता गठबन्धनले मन्त्रालय भागबन्डामा सहमति जुटाउन छलफल सुरू गरेको छ।

मन्त्रालय बाँडफाँटमा टुंगो लगाउने मंगलबार दिउँसो २ बजे गठबन्धनको बैठक बोलाइएको छ।

मन्त्रालयको भागबन्डा टुंग्याउन सत्ता गठबन्धनले चार सदस्यीय कार्यदल बनाएको छ। कार्यदलको बैठक दिउँसो बस्न लागेको हो।

कार्यदलमा एमालेका शंकर पोखरेल, माओवादी केन्द्रका वर्षमान पुन, रास्वपाका स्वर्णिम वाग्ले र जसपाका राजेन्द्र श्रेष्ठ छन्।

पुरानो गठबन्धन टुटेर नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरी चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्।

आठबुँदे सहमति

सोमबार बनेको चार दलीय नयाँ गठबन्धनबीच सत्ता सञ्चालन र राष्ट्रियसभा अध्यक्ष निर्वाचनलगायतका विषयमा ८ बुँदे सहमति भएको छ।

सहमतिअनुसार गठबन्धनमा आवद्ध चार दलहरू सरकारमा सहभागी हुने गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकारको गठन गर्नेदेखि राष्ट्रियसभा अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई सघाउने भएका छन्।

सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र रास्वपा अध्यक्ष रवि लामिछानेको हस्ताक्षर छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *