काठमाडौं- निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका नेपाली नागरिकलाई नाम दर्ताका लागि आह्वान गरेको छ।
विभिन्न कारणले रिक्त भएका पदहरूमा उपनिर्वाचन गराउने तयारी गरिरहेको आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन आह्वान गरेको हो।
निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित हुने बताउँदै आयोगले त्यसअगावै नाम दर्ता गर्न आह्वान गरेको हो।
‘विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका स्थानीय तह, प्रदेससभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,’ सोमबार आयोगले विज्ञप्ति निकालेर भनेको छ।
मतदाता नामावली ऐन, २०७३ को दफा ४(२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने व्यवस्था छ।
विभिन्न कारणले रिक्त भएका स्थानीय तह, प्रदेससभा सदस्य र प्रतिनिधिसभा सदस्यको पदपूर्ति गर्न आयोग उपनिर्वाचनको तयारीमा जुटेको छ।
उपनिर्वाचनका लागि सरकारसँग परमार्श भइरहेको र उपयुक्त समयमा उपनिर्वाचनको मिति तोकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन्।
अयोगले आगामी वैशाखमा उपनिर्वाचनका लागि तयारी गरिरहेको बताइएको छ।
Leave a Reply