जनकपुरधाम- भारतको झारखन्ड राज्यका एक मन्त्रीको निजी सचिव र उनका आफन्तको घरमा प्रवर्तन निर्देशनालय (इडी) ले छापा हानेर ३५ करोडबढी रकम बरामद गरेको छ।
झारखन्डका ग्रामीण विकास एवं संसदीय कार्यमन्त्री आलमगीर आलमको निजी सचिव सञ्जीवकुमार लाल र उनका आफन्तको घरमा इडीले छापा हानेको हो।
छापामारीका क्रममा लाल र उनका आफन्तहरूको घरबाट ३५ करोड २३ लाख रूपैयाँ बरामद भएको बिबिसीले जनाएको छ।
सोमबार अबेर रातिसम्म नगदको गन्ती भएको र यसका लागि बैंकबाट पैसा गन्ने मेसिन प्रयोग गरिएको बताइएको छ।
लाल झारखन्ड प्रशासनिक सेवा (जेपिएससी) को पहिलो ब्याचका अधिकारी हुन्।
उनी यसअघि बिजेपीका रघुवर दास सरकारमा मन्त्री सिपी सिंह र अर्जुन मुन्डा सरकारका मन्त्री बिमला प्रधानको समेत सचिव थिए।
इडीका अधिकारीहरूले लालको सरकारी आवास तथा उनका सहायक जहांगीर आलमको निजी निवासमा छापा हानेको थियो।
यसका साथै उनकी पत्नीसँगै एक कम्पनीका निर्देशक व्यवसायी मुन्ना सिंह, ग्रामीण विकास विभागका अभियन्ता कुलदीप मिन्ज र विकास कुमारको घरमा समेत इडीले छापा हानेका थिए।
छापामारीका क्रममा सबैभन्दा बढी नगद आलमको घरबाट बरामद भएको थियो। उनको घरबाट ३१ करोड २० लाख नगदका साथै केही सरकारी कागजातसमेत बरामद भएको जनाइएको छ।
Leave a Reply