बेलायतका राजा चार्ल्सलाई क्यान्सर

काठमाडौं- बेलायतका राजा चार्ल्सलाई क्यान्सर भएको पत्ता लागेको छ।

बकिङ्गम दरबारले उनलाई एक प्रकारको क्यान्सर भएको पत्ता लागेको पुष्टि गरेको छ।

प्रस्टेट बढेपछि जाँच गर्दा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर नभएको जनाइएको छ।

क्यान्सरको प्रकार खुलाइएको छैन। तर, दरबारले जारी गरेको वक्तव्यअनुसार राजाले सोमबारबाट ‘नियमित’ उपचार थालेका छन्। क्यान्सरको चरण वा अवस्थाबारे अहिले नै केही खुलाइएको छैन।

७५ वर्षीय राजा सार्वजनिक गतिविधिमा सहभागी हुने छैनन्। उनको उपचारको समयमा रानी कमिला एवं राजकुमार विलियमले राजकीय दायित्वहरू निर्वाह गर्नेछन्।

बकिङ्गम दरबारले राजा ‘आफ्नो उपचारप्रति पूर्ण सरकारात्मक रहेको र जतिसक्दो चाँडो सार्वजनिक जिम्मेवारीमा फर्किन इच्छुक रहेको’ जनाएको छ।

सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि राजाले राष्ट्रप्रमुखको आफ्नो संवैधानिक उत्तरदायित्वलाई भने निर्वाह गरिरहने छन्।

आइतबार उनलाई सान्ड्रिङ्गममा एउटा गिर्जाघरको प्रार्थनासभामा देखिएको थियो। त्यहाँ उनले मानिसहरूतिर हेरेर हात हल्लाएका थिए।

उनले लन्डनस्थित एउटा निजी अस्पतालमा एक साताभन्दा केही समयअघि प्रस्टेटको उपचार गराएका थिए।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *