जनकपुरधाम- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रचण्ड नयाँ दिल्ली पुगेका हुन्।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतको विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले औपचारिक स्वागत गरे।
प्रधानमन्त्री प्रचण्डको स्वागतका लागि विमानस्थलबाहिर सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।
लगातार तेस्रोपटक प्रधानमन्त्री हुन लागेका मोदीको सपथग्रहण कार्यक्रमपछि दुवै नेताबीच भेटवार्ता हुने कार्यक्रम तय भएको छ।
राष्ट्रपति कार्यालयमा साँझ सवा ७ बजे मोदीको सपथग्रहण कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री प्रचण्डको सोमबार स्वदेश फर्कने कार्यक्रम छ। भ्रमण टोलीमा प्रचण्डसँग उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी तथा उच्चपदस्थ सरकारी अधिकारीहरू रहेका छन्।
प्रधानमन्त्री प्रचण्ड यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए।
मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन माल्दिभ्सका राष्ट्रपति मोहम्मद जोइज्जू पनि आइतबार नयाँ दिल्ली पुगेका छन्।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सपथग्रहण कार्यक्रममा सहभागी हुन शनिबार नै नयाँ दिल्ली पुगिसकेकी छन्।
सपथग्रहण कार्यक्रममा सहभागी हुने विदेशी पाहुनाको सम्मानमा भारतीय राष्ट्रपति द्रौपदी मर्मूले रात्रिभोजको आयोजना गरेकी छन्।
भारतमा सम्पन्न लोकसभा निर्वाचनमा नेसनल डेमोक्रेटिक एलायन्स (एनडिए) २९३ सिटमा विजयी भएको छ। एनडिए गठबन्धनको नेतृत्व गरिरहेको मोदीको भारतीय जनता पार्टी (भाजपा) २४० सिट जितेको छ।
एनडिए गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको समर्थनमा मोदी आइतबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको सपथ लिन लागेका हुन्।
यसअघि कांग्रेस नेता जवाहरलाल नेहरूमात्रै लगातार तीन कार्यकालका लागि भारतको प्रधामन्त्री भएका छन्।
Leave a Reply