काठमाडौं-नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन आफ्ना पार्टीका सबै सांसदलाई ह्वीप जारी गरेको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन सोमबार ह्वीप जारी गरेका हुन्।
प्रचण्डले पुरानो गठबन्धन तोडेर एमालेलगायतका दलहरूसँग गठबन्धन गरेपछि कांग्रेसले समर्थन फिर्ता लिँदा विश्वासको मत लिन लागेका हुन्।
उनले आगामी ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
कांग्रेसले फागुन ३० गते बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।
गत वर्ष १० पुसमा एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड राष्ट्रपति उम्मेदवारको विषयमा सहमति नजुटेपछि फेरि कांग्रेसलगायतका दलहरूको गठबन्धनमा फर्किएका थिए।
त्यो बेला एमालेले समर्थन फिर्ता लिएपछि उनले दोस्रोपटक विश्वासको मत लिनुपरेको थियो।
पछिल्लो समय २३ फागुनमा कांंग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड फेरि एमालेसँग सहकार्य गरेका छन्।
Leave a Reply