जनकपुरधाम- मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताएका छन्।
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौंले नयाँ वर्षको अवसरमा शनिबार जनकपुरधाममा आयोजना गरेको सांस्कृतिक महोत्सवको उदघाटन गर्दै उनले यस्तो बताएका हुन्।
मुख्यमन्त्री यादवले नेपाल–भारतबीचको सम्बन्ध हिमालभन्दा उँचो र समुद्रभन्दा गहिरो रहेको उल्लेख गरे।
दुई देशबीचको सम्बन्ध दुई देशका सरकारभन्दा पनि जनताबीच रहेको उल्लेख गर्दै उनले भने,‘नेपाल–भारतबीचको सम्बन्ध सरकारसम्ममात्रै सीमित छैन, जनता–जनताबीचको सम्बन्ध हो यो। यसको पुष्टि रामललाको प्राण प्रतिष्ठाको क्रममा पुष्टि भइसकेको छ।’
मुख्यमन्त्री यादवले सीमा क्षेत्रमा सुरक्षा र राजस्वको नाउँमा केही वर्षयता सर्वसाधारणसँग सुरक्षाकर्मीबाट भइरहेको व्यवहारले दुई देशीचको पुरानो सम्बन्धमा खलल पु¥याउने काम गरेको जिकिर गरे।
सुरक्षाकर्मीका तर्फबाट भइरहेको यसखाले व्यवहारमा सुधार ल्याउन नेपाल र भारत दुवै देशले पहल गर्नुपर्ने उनको भनाइ थियो।
भारतीय महावाणिज्य दूतावास बीरगन्जका महावाणिज्यदूत डिएस मिनाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले यसखाले कार्यक्रमहरूले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मदत पुग्ने बताए।
उनले नेपाल र भारतबी राजनीतिकमात्र नभएर धार्मिक, पौराणिक, सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गरे।
महोत्सवमा दुई देशका नारीहरूको साझा पहिरन साडीको प्रदर्शनका साथै विभिन्न किल्लाहरूको तस्बिर प्रदर्शनीमा राखिएको थियो।
महोत्सवअन्तर्गत साँझ सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरिएको छ।
Leave a Reply