नरेन्द्र मोदी : भारतमा तेस्रोपटक प्रधानमन्त्री!

जनकपुरधाम- भारतमा नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित हुनसक्ने मतदान सम्पन्न भएपछिका प्रारम्भिक मत सर्वेक्षण (एक्जिट पोलहरू) ले देखाएका छन्।

विश्लेषकहरूले भने विभिन्न समाचार संस्थाहरूले गर्ने एक्जिट पोल विगतमा प्रायः गलत र निष्पक्ष नभएको पाइएको चेतावनी दिएका छन्।

यद्यपि तिनका सर्वेक्षणले आमनिर्वाचनमा मोदीको भारतीय जनता पार्टी (भाजपा) अगाडि रहेको देखाएको छ।

भाजपा, मुख्य विपक्षी दल कांग्रेस पार्टी र क्षेत्रीय विपक्षी दलहरू सात चरणको चुनावका लागि चर्का अभियान चलाएका थिए।

सात चरणगरी शनिबार सम्पन्न भएको लोकसभा निर्वाचनको मतपरिणाम भने मंगलबार सार्वजनिक हुँदैछ।

कुनै एक दल वा गठबन्धनलाई सरकार बनाउनका लागि तल्लो संसद लोकसभामा २७२ सिट आवश्यक पर्छ।

भाजपा नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक अलायन्स (एनडिए) ले बहुमतको सिट पु¥याउने एक्जिट पोलहरूले देखाएका छन्। पोलहरूमा एनडिएले सदनमा झन्डै दुई तिहाइ सिट पु¥याउने प्रक्षेपण गरेका छन्।

मतदान सकिएपछिको आफ्नो पहिलो प्रतिक्रियामा मोदीले एक्जिट पोलहरूको उल्लेखविनै जित दाबी गरेका छन्।

आफ्नो दाबीको आधार प्रस्तुत नगरिकन उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘म आत्मविश्वासका साथ भन्न सक्छु कि भारतका मानिसहरूले एनडिए सरकारलाई पुर्ननिर्वाचित गर्ने कीर्तिमानी संख्यामा मतदान गरेका छन्।’

विपक्षीले भारतमा निकै अविश्वसनीय हुने एक्जिट पोलका नतिलाई खारेज गर्दे भाजपा सरकारले प्रतिद्वन्द्वीहरूलाई मौन बनाएको र उनीहरूलाई समान प्रतिस्पर्धाको मौका दिन अस्वीकार गरेको आरोप लगाएको छ।

यो चुनावमा प्रधानमन्त्री मोदी प्रचण्ड लोकप्रियताका साथ आए तापनि उनको मुख्य प्रतिद्वन्द्वी भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र विपक्षी दलहरूको गठबन्धनले आफ्नो लामो चुनावी अभियानका बेला उल्लेख्य माहोल बनाउन सफल भएको थियो।

यतिखेर ६ वटा एक्जिट पोलको औसत हेर्दा भाजपा नेतृत्वको एनडिएले ठूलो जित हासिल गर्ने देखिएको छ। तर, त्यस्ता सर्वेक्षणहरू सँधै भरपर्दा हुँदैनन्।

उनीहरूका छट्टाछुट्टै प्रक्षेपण भिन्नभिन्न भए तापनि एनडिएले ३५५ देखि ३८० बीचमा सिट जित्ने अनुमान गरिएको छ।

विपक्षीहरूको ‘इन्डियन नेसनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स (इन्डिया’ नाम दिइएको गठबन्धनले १२५ देखि १६५ को बीचमा सिट ल्याउने ठानिएको रोयटर्स समाचार संस्थाले जनाएको छ।

आफ्नै आकलनमा भने भाजपाले झन्डै ३२७ सिट जित्नसक्छ जुन यसअघि उसले राखेको लक्ष्य ३७० भन्दा कम हो।

सन् २०१९ को चुनावमा भाजपा एक्लैले ३०३ सिट जितेको थियो।

भाजपा नेतृत्वको एनडिएले भने कुल ३२५ सिट जितेको थियो।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *