जनकपुरधाम- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण जनतामा निराशा छाएको बताएका छन्।
धनुषाको हँसपुर नगरपालिकाको निकालमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘माओवादी नेतृत्वको सरकारमा कांग्रेस सामेल छ, अहिले सरकारको अवस्था के छः जनतामा निराशा छाएको छ, युवाहरू विदेश पलायन हुँदैछन्,’ पोखरेलले भने, ‘देशमा रोजागरी छैन, एमाले सरकारमा छँदा रोजगारीका योजनाहरू सुरू भएका थिए।’
गठबन्धनको सरकारबाट युवाका लागि मुलुकमा रोजगारी सिर्जना हुनेवाला नरहेको उनले बताए।
महासचिव पौडेलले मधेसका मसिहा भन्ने पार्टीहरू मधेसी जनताका लागि केही नगर्ने पुष्टि भइसकेको उल्लेख गरे।
‘यो मधेस ६ वर्षदेखि जसपा नेतृत्वको सरकार छ, के परिवर्तन भयो मधेसमा?’, उनले भने, ‘केही भएको छैन। एउटा नारा लगाए निकै मिठो नारा थियो बेटी बचाऊ, बेटी पढाऊ, राम्रो कार्यक्रम रहेछ भनेर हामीले पनि प्रशंसा ग¥यौं। तर, त्यसको अन्तर्य करौडौं भ्रष्टाचार गर्ने रहेछ।’
मधेसका छोरीहरूको नाममा सरकारले पैसा लुट्ने काम गरेको बताउँदै उनले भ्रष्टाचार गर्नेहरू आज जेल जान लागेको उल्लेख गरे।
जसपा र लोसपापछि अब जनमत भन्ने पार्टी जुरमुराउन थालेको जिकिर गर्दै पौडेलले क्षेत्रीय पार्टीहरूले देश बनाउन नसक्ने दाबी गरे।
भारतको उदाहरण दिँदै उनले भने, ‘उत्तर प्रदेसमा कहिले मुलायम सिंह कहिले मायावतीले नेतृत्व ग¥यो विकास हुनसकेन। जब भारतीय जनता पार्टीले नेतृत्व सम्हाल्यो उत्तर प्रदेसले विकासको गति लियो।’
तराईका जनताले वर्षामा बाढी र हिउँदमा पानीको समस्या भोग्दै आएको बताउँदै उनले नेपालको पानी नेपाली जनताले प्रयोग गर्न पाउनुपर्ने धारणा राखे।
उनले तराई मधेसका नागरिकले भोगिरहेको यो पीडालाई सम्बोधन गर्न अहिलेको नेताले सपना देख्नुपर्ने जिकिर गरे।
पौडेलले नेपालको सबैभन्दा लामो सिँचाइ परियोजना सुनकोसी मरिन डाइभर्सन योजना एमाले सरकारकै बेला सम्भव भएको उल्लेख गरे।
महासचिव पौडेलले नेपालको पानी नेपाली जनताले उपयोग गर्न पाउनुपनुपर्ने मान्यताको वकालत गर्ने नेता केपी शर्मा ओली रहेको बताए।
Leave a Reply