जिबी राईको पासपोर्ट रद्द गर्न पत्राचार

काठमाडौं- सहकारी बचकर्ताका अर्बौं रूपैयाँ ठगी गरेको आरोप लागेपछि फरार भएको जिबी राई (गितेन्द्रबाबु राई) को पासपोर्ट रद्द गर्न प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको छ।

जिल्ला प्रहरी कास्कीको अपराध अनुसन्धान शाखाले राईको पासपोर्ट रद्ध गर्न राहदानी विभागलाई पत्राचार गरेको हो।

हाल मलेसियामा रहेको र भागेर अन्य मुलुकमा जाने सम्भावना रहेकाले प्रहरीले उनको पासपोर्ट रद्ध गर्न राहदानी विभागलाई भनेको हो।

राईको पासपोर्ट रद्ध गरेर मलेसियन राजदूतावास, प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखा र जिल्ला प्रहरी कार्यालयमा पठाइदिन पत्रमा आग्रह गरिएको छ।

यसअघि प्रहरीले इन्टरपोलमार्फत राईलाई नेपाल झिकाउन रेड नोटिस जारी गरेको थियो।

सहकारी ठगी प्रकरणमा मुछिएर फरार भएका राई हालसम्म पक्राउ पर्न सकेका छन्।

ग्लोक्सी टिभीका अध्यक्षसमेत रहेका राईमाथि सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि रास्वपा अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि यो प्रकरणमा मुछिएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन माग गरिरहेको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *