जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले नेपालको आर्थिक अवस्था चिन्तनीयरहेको बताएका छन्।
जसले जेसुकै भने पनि आर्थिक अवस्था ठीक नरहेको उनले बताए।
‘अहिले सुनिन्छ नेपालको अर्थव्यस्था ज्यादै अप्ठ्यारो अवस्थामा रहेको छ। लिक्विडेसनको अवस्था छ, पैसा नै सकियो भनेर सुनिन्छ,’ जनकपुर पेट्रोलियम डिलर्स एसोसिएसनका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा निधिले भने, ‘फेरि अर्कोतिर सबै ठीक च भनेर पनि सुनिन्छ। आधिकारिक व्यक्ति गभर्नरले नै समस्या छैन भनेको सुनिन्छ। तर, जसले जे भने पनि अर्थतन्त्र ठीक अवस्थामा छैन। ’
उनले अहिले देखिएको आर्थिक समस्यालाई गहनापूर्वक ध्यान दिएर समाधान गर्नुपर्ने उल्लेख गरे।
‘अहिले गठबन्धनको सरकार छ, माआवादीको नेतृत्व भए पनि सरकारमा हामी पनि सहभागी छौं, अर्थतन्त्रमा देखिएको समस्यालाई गहनतापूर्वक विचार गरेर हल गर्नुपर्छ भन्ने म भन्न चाहन्छु,’ निधिले भने।
काठमाडौंभन्दा बाहिर पनि देशको आर्थिक र राजनीतिक अवस्थाबारे चिन्ता व्यक्त भइरहेको बताउँदै उनले यसको समाधान सरकार र सबै राजनीतिक दलले गर्नुपर्ने उल्लेख गरे।
निधिले संघीयत लोकतान्त्रिक गणतान्त्रिक प्रणालीको सफल कार्यान्वयनतर्फ सबै राजनीतिक दल र सरकार अग्रसर हुनुपर्ने बताए।
‘हामीले जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली ल्याएका छौं त्यसको सफल कार्यान्वयन गर्ने कि नगर्ने? केही त्रुटी छ भने त्यसलाई परिमार्जन गरौंं, सुधार गरौं। यसको जिम्मेवारी सरकार र राजनीतिक दलहरूको हो, सबै लाग्नुपर्छ,’ उनले भने।
उनले पेट्रोलियम व्यवसायीहरूका सम्बन्धमा सरकारले विवेकपूर्ण र परिपक्व नीति अवलम्बन गर्नुपर्नेमा आफू पनि सहमत रहेको बताए।
पेट्रोलियम व्यवसायीहरूले भोगिरहेका समस्याबारे आफूले सरकार र सम्बन्धित मन्त्रीसमक्ष राख्ने उनले प्रतिबद्धता व्यक्त गरे।
व्यवसायीको हकहितका लागि कुराहरू उठिरहँदा उपभोक्ताहरू मारमा पर्ने नहुने निधिको भनाइ छ।
उनले जनकपुरको विकासका लागि एकअर्कालाई निषेध गरेर नभइ एकजुट भएर लाग्नुपर्ने बताए।
Leave a Reply