जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालले दल विभाजनका लागि निर्वाचन आयोगमा दर्ता भएको निवेदन ‘अवैधानिक’ रहेको बताएको छ।
नेता अशोक राईले ९ सांसदसहित आइतबार निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिएपछि जसपाले यस्तो बताएको हो।
जसपा नेपालका प्रवक्ता मनिष सुमनले ‘अवैधानिक’ निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको बताएका हुन्।
उनले बहुमत केन्द्रीय सदस्य जसपा नेपालप्रति नै प्रतिबद्ध रहेकाले दल विभाजन हुन नसक्ने दाबीसमेत गरेका छन्।
‘हाल संसद अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै यस दलको बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गइ अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यलगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न हुन अनुरोध छ,’ प्रवक्ता सुमनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आइतबार राईको नेतृत्वमा प्रदीप यादव, रेणु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ७ जना सांसदले आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिएका थिए।
उनीहरूले जनता समाजवादी पार्टी नेपालबाट ‘नेपाल’ शब्द हटाएर जनता समाजवादी पार्टी (जसपा) नामको दल दर्ताका लागि निवेदन दिएका थिए।
२८ जेठबाट जनकपुरधाममा सुरू हुने पार्टीको एकता अधिवेशनका लागि जनकपुरधामस्थित ‘रमण टावर’ मा तयारी बैठक चलिरहेकै बेला जसपाका ७ सांसदलगायतका नेताहरू छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुगेका थिए।
छुट्टै दल दर्ताका लागि निवेदन दिएका नेताहरू जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनमा एकलौटी गर्न खोजेको, सरकार ढाल्ने योजना बनाएको लगायतका आरोप लगाएका छन्।
जसपाका नेता राजेन्द्र श्रेष्ठले एक्कासी देखिए पनि छुट्टै दल दर्ताको तयारी केही दिनअघि नै सुरू भइसकेको बताए।
‘एक्कासी भएको होइन, अध्यक्षको एकलौटीपन, महाधिवेशनमा सदस्यता वितरणसम्बन्धी समस्याहरू थिए। हामीले सच्चिन पटकपटक आग्रह ग¥यौंं, कुनै सुनुवाइ नभएपछि अलग हुनुपर्ने अवस्था आएको हो,’ श्रेष्ठले भने।
आफूहरू सरकारको स्थायीत्वको पक्षमा रहेकोले सत्ता गठबन्धनलाई साथ रहने उनले बताए।
अध्यक्ष यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आलोपालो गरी प्रधानमन्त्री बन्ने गरी नयाँ गठबन्धनको तयारी सुरू गरेपछि जसपा नेपालमा विभाजनको परिस्थिति निम्तिएको स्रोतको भनाइ छ।
अध्यक्ष यादवले कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग मिलेर नयाँ गठबन्धन बनाउने रणनीति तयार गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘डिजाइन’ मा जसपा फोडिएको बताइएको छ।
Leave a Reply