
आन्दोलित व्यवसायीहरू
जनकपुरधाम- जनकपुरका उद्योगी व्यवसायीहरूले धनुषाका एसपी र घुमुवा प्रहरीलाई कारबाही गर्न माग गरेका छन्।
व्यवसाय गर्ने वातावरण धुमिल बनाउँदै उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम गरेको भन्दै उनीहरू जिल्लाका प्रहरी प्रमुख र घुमुवा प्रहरीलाई कारबाही गर्न माग गरेका हुन्।
आइतबार आधादिन आ–आफ्नो व्यवसायिक प्रतिष्ठान बन्द गरेर व्यवसायीहरूले एसपी र घुमुवा प्रहरीहरूलाई कारबाहीको माग गर्दै प्रदेस प्रमुख, मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।
सुनचाँदी व्यवसायी बलराम साह र अरुणकुमार ठाकुरलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभागको पथलैयास्थित कार्यालयमा बुझाएको विरोधमा व्यवसायीहरू आन्दोलित भएका हुन्।
जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा, जनकपुरधाम सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी संघ धनुषा, जनकपुरधाम कालिगढ संघसहितका व्यवसायीहरूले तीनवटै निकायमा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका हुन्।
उद्योगा वाणिज्यसंघका वरिष्ठ उपाध्यक्ष मनिषरमण साहले दोषी प्रहरीलाई कारबाहीको माग गर्दै आफूहरूले ज्ञापनपत्रमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताए।
धनुषाको एसपीको सरूवा, घुमुवा प्रहरीलाई निलम्बन तथा विभागीय कारबाही र व्यापार व्यवसायका लागि त्रासरहीत वातावरणको निर्माण आफूहरूको मुख्य माग रहेको उनले जानकारी दिए।
वरिष्ठ उपाध्यक्ष साहका अनुसार व्यवसायीहरूले उठाएको मागप्रति आफू सकारात्मक रहेको मुख्यमन्त्रीले बताएका छन्।
‘तपाईंहरूले उठाएको मागप्रति म सकारात्मक छु, व्यापार व्यवसायका लागि त्रासरहीत वातावरण हुनैपर्छ,’ मुख्यमन्त्री सरोजकुमार यादवको भनाइ उद्धृत गर्दै साहले भने,‘म काठमाडौं जाँदैछु। गृहमन्त्रीज्यूलाई भेटेर यसबारे कुराकानी गर्नेछु।’
साहले पछिल्लोपटक दुई जना सुनचाँदी व्यवसायीमाथि प्रहरीबाट भएको व्यवहारका कारण सम्पूर्ण उद्योगी व्यवसायीहरूमा त्रास सिर्जना भएको जिकिर गरे।
बिलबिजक देखाउन नसकेको भन्दै प्रहरीले सुनचाँदी व्यवसायी बलराम साह, अरुणकुमार ठाकुर, सिरहा मिर्चैयाका सञ्जय साह सोनार र अजय साह सोनारलाई गत साता नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएलगत्तै प्रहरीले उनीहरूलाई थप कारबाहीका लागि राजस्व अनुसन्धान विभागको कार्यालय पथलैयालाई जिम्मा लगाएको थियो। चारै जना धरौटी बुझाएर छुटेका छन्।
सामान्य घटनालाई अतिरञ्जित गरेर प्रहरीले व्यवसायीको ‘चरित्र हत्या’ गर्नुका साथै आर्थिक लाभ लिन खोजेको यहाँका व्यवसायीहरूको ठम्याइ छ।
उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष साह घुमुवा प्रहरीहरू व्यवसायीहरूलाई त्रसित बनाएर आर्थिक लाभ लिने उद्देश्यले यस्तो कार्य गरेको हुनसक्ने आफूहरूको प्रारम्भिक बुझाइरहेको बताए।
घुमुवा प्रहरीका साथै प्रहरी प्रमुखको पनि त्यस्तै ध्येय हुनसक्ने भएकाले घटनाको छानबिन गर्नुपर्ने उनको भनाइ छ।
‘एसपी नयाँ हुनुहुन्छ। घुमुवाहरू ‘म्यानुप्लेट’ गरेर गलत सूचना दिएको हुनसक्छन्। आर्थिक लाभ लिन पनि घुमुवाहरूले यस्तो काम गरेको हुनसक्छन,’ उनी भन्छन्,‘चाहे एसपीले पनि घुमुवा आतंक मच्चाएर व्यवसायीलाई त्रसित पार्न खोजेको हुनुपर्दछ। त्यसैले घटनाको छानबिन गरेर दोषी प्रहरीलाई कारबाही गर्न माग गरेका हौं।’
उनले सामान्य कुरालाई लिएर व्यवसायीको प्रतिष्ठामा आँच पु¥याउने काम स्वीकार्य हुन नसक्ने बताए।
‘४/५ किलोको होइन ४/५ तोलाको कुरा थियो। यसकै लागि चोरडाँकाझैं हतकडी लगाएर व्यवसायीको चरित्रसँग खेल्ने काम भएको छ, यो सह्य हुँदैन,’ उनले भने।
व्यवसायीहरूले आफूहरूले अघिसारेका माग तत्काल पूरा नभए थप सशक्त आन्दोलन गर्न बाध्य हुने र यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनीसमेत दिएका छन्।
Leave a Reply