काठमाडौं- आइतबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको छ।
दिउँसो २ बजे बस्नेगरी बैठक सारिएको संघीय संसद सचिवालयले जनाएको छ।
सहकारी ठगी प्रकरणको छानबिनका लागि गठन भएको संसदीय समितिको कार्यदेश टुंग्याउन बसेको कार्यदलको बैठक लम्बिएपछि संसद बैठक सरेको हो।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न सत्तापक्ष र विपक्षी दलबीच शनिबार सहमति भएको थियो।
तर, समितिको कार्यदेशमा सहमति जुट्न सकेको छैन।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजन गरिरहेको कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट सहमहामन्त्री जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल छन्।
कार्यदलको बैठक आइतबार बिहानैदेखि सिंहदरबारमा बसिरहेको छ।
बैठक सञ्चालन नगर्न विपक्षी दलको आग्रह
कांग्रेससहितका विपक्षी दलहरूले छानबिन समितिको कार्यदेशमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका थिए।
छानबिन गठनसम्बन्धी कार्यदलको कार्यदेशमा सहमति नभएसम्म बैठक नचलाउन विपक्षीको तर्फबाट सांसद ज्ञानबहादुर शाहीले सभामुख घिमिरेलाई आग्रह गरेका थिए।
यसअघि बिहान बसेको विपक्षी दलको बैठकले गृहमन्त्री लामिछानेलाई प्रतिनिधिसभा बैठकमा बोल्न दिने निर्णय गरेको थियो।
गृहमन्त्रीले बोलिसकेपछि प्रतिपक्षी दलको तर्फबाट सभामुखसँग समय माग्ने र कांग्रेसले बोल्ने निर्णय भएको थियो।
Leave a Reply