काठमाडौं- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा लिखित निर्णय नभएको बताएका छन्।
बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने अधिकांश सदस्यहरूले धारणा राखे पनि लिखित रूपमा कुनै निर्णय नभएको उनको भनाइ छ।
यद्यपि प्रचण्डले अहिले घटनाक्रमहरू भिन्न तरिकाले बढिरहेको बताए।
शान्ति प्रक्रिया र संविधान लेखन प्रक्रियामा कृष्णप्रसाद सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रियसभाको अध्यक्ष बनाउनसक्ने आफूले केही समयअघि बताए पनि अहिले घटनाक्रमहरू भिन्न तरिकाले अघि बढेको उनले उल्लेख गरे।
‘गएको भिन्न एउटा परिस्थिति थियो त्यो परिस्थितिमा सिटौलाजीले शान्ति प्रक्रिया शान्ति प्रक्रियामा खेलेको भूमिका, संविधान निर्माणमा खेलेको सकारात्मक भूमिकाको पृष्ठभूमिमा यदि सिटौलाजी आउने हो भने सकारात्मक ढंगले सोच्न सकिन्छ भनेकै हो,’ उनले भने,‘तर, त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रमहरू अलि भिन्न ढंगले अगाडि गए।’
प्रचण्डले कोसीमा कांग्रेसकै कारण राष्ट्रियसभा सदस्य निर्वाचनमा माओवादीको उम्मेदवार पराजित भएकाले नेता कार्यकर्तामा असन्तुष्टि बढेको बताए।
कांग्रेस महासमिति बैठकले गठबन्धन गरिँदैन भनेर गरेको निर्णय, धर्मनिरपेक्षता र जनयुद्धका विषयमा भएका टिप्पणीहरूले केही आशंका उत्पन्न भएको उनको भनाइ छ।
Leave a Reply