जनकपुरधाम- अत्याधिक गर्मीका कारण मधेसका विद्यालयहरू बन्द हुन थालेका छन्।
गमीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर देख्न थालिएपछि पालिकाहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
जनकपुरधाम उपमहानगरपालिकाले पाँच दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाले प्रतिदिन बढ्दै गएको गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्यनजर गरी जेठ १७ देखि २१ गतेसम्म सबै विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो।
वार्षिक बिदामा कट्टा हुनेगरी प्रशासनिक कामकाजबाहेक पठनपाठन बन्द रहने उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।
त्यस्तै धनुषाको नगराईन नगरपालिकाले पनि अत्याधिक गर्मीका कारण विद्यालयहरूमा बिदा दिने निर्णय गरेको छ।
वर्षे बिदाबाट कट्टा हुनेगरी पालिकाअन्तर्गतका सबै विद्यालय बिहीबार र शुक्रबार बन्द रहने जारी सूचनामा उल्लेख छ।
पछिल्लो समय जनकपुरधामसहित मधेसका जिल्लाहरूमा तापक्रम ४० डिग्री सेल्सियमाथि पुगेपछि जनजीवन कष्टकर बनेको छ।
Leave a Reply