क्याम्पस प्रमुख हत्या घटना : ७ जना पक्राउ

जनकपुरधाम- बाराका एक जना पूर्वक्याम्पस प्रमुखको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

बाराको कलैयास्थित रामरजा बहुमुखी क्याम्पसका तत्कालीन प्रमुख ५० वर्षीय हरिभुषणप्रसाद कुशवाहाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो।

आदर्श कोतवला गाउँपालिका–२ खजुरीया घर भएका कुशवाहाको जेठ ३२ गते गोली हानेर हत्या भएको थियो।

पक्राउ पर्नेमा आदर्श कोतवाल गाउँपालिका–२ खजुरिया टोल बस्ने ३२ वर्षीय अवधलाल कुशवाहा, त्यही ठाउँका २९ वर्षीय चाँदसीप्रसाद कुशवाहा, ३४ वर्षीय राधेश कुर्मी, ५४ वर्षीय विनोदराउत कुर्मी र २७ वर्षीय चुल्हाई भन्ने श्रवणकुमार साह रहेका छन्।

त्यस्तै घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका–१० मटिअर्वा टोली बस्ने ५० वर्षीय आम्रपाली भन्ने ब्रह्मदेव राम र वडा नम्बर ७ पिपरा टोल बस्ने ५० वर्षीय मोतिलाल चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरूको साथबाट तीन थान मोटरसाइकल, ६ राउन्ड गोली, विभिन्न मोबाइल, ल्यापटप र नेपाली तथा भारतीय सीमकार्डहरू बरामद भएको बारा प्रहरीका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिएका छन्।

मोटरसाइकल चढेर खजुरियाबाट कलैयातर्फ आउने क्रममा आदर्शकोतवाल गाउँपालिका–३ स्थित बतरा टोलमा क्याम्पस प्रमुख कुशवाहामाथि अपरिचित व्यक्तिहरूको समूहले गोली प्रहार गरेको थियो।

गोली लागेर घाइते भएका उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

पक्राउ परेका व्यक्तिहरूमाथि कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *