कांग्रेसको दाबीका बीच राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादीको निर्णय

काठमाडौं- नेकपमा (माओवादी) केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षमा माओवादीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको हो।

स्थायी कमिटी सदस्यसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रियसभा अध्यक्षमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए।

राष्ट्रियसभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयले गठबन्धनमा कुनै असर नपर्ने उनले बताए।

स्थायी कमिटी बैठकमा हालै सम्पन्न नेपाली कांग्रेस महासमिति बैठकको विषय पनि उठेको छ।

महामन्त्री गगन थापाको आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाल लड्ने प्रस्तावमाथि बैठकमा छलफल भएको प्रवक्ता सापकोटाले बताए।

कांग्रेस महासमिति बैठकको निर्णयबारे बैठकमा छलफल भएको भन्दै उनले आगामी निर्वाचनमा गठबन्धन नगरी एक्लै लड्ने पनि निर्णय यसअघि नै गरिएको बताए।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेपछि सत्ता गठबन्धनमा रस्साकस्सी हुने सम्भावना बढेको छ।

सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसले पनि राष्ट्रियसभा अध्यक्षका लागि दाबी गरिरहेकोले गठबन्धनमा ‘टकराव’ को सम्भावानालाई बढाएको हो।

यसअघि राष्ट्रियसभा अध्यक्ष आफूले पाउनेमा ढुक्क रहेको कांग्रेस माओवादीको यो निर्णयबाट झस्किएको छ।

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्न ६ सदस्यीय संवैधानिक परिषदको सदस्यसमेत हुने भएकाले दुवै दलले राष्ट्रियसभा अध्यक्ष आफ्नो दलका नेतालाई बनाउन चाहेका छन्।

कांग्रेसले राष्ट्रियसभा अध्यक्ष आफूले पाउने सोचका साथ पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभामा प्रवेश गराएको थियो।

राष्ट्रियसभा अध्यक्ष आफूहरूले पाउने सहमति गठबन्धनमा सहमति भइसकेको कांग्रेस नेताहरूको दाबी छ।

माओवादी र कांग्रेसबीचकै समझदारीमा सिटौलालाई राष्ट्रियसभा सदस्यका लागि सारिएको उनीहरूको भनाइ छ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएर पनि कुनै कार्यकारी पद नपाएकाले राष्ट्रियसभा अध्यक्षमा आफूहरूको दाबी स्वभाविक रहेको कांग्रेस नेताहरूको भनाइ छ।

‘गठबन्धनको सबैभन्दा ठूलो दल हामी हौं। तर, हामीसँग कुनै कार्यकारी पद छैन,’ कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भन्छन्,‘प्रधानमन्त्री माओवादी र सभामुख एमालेको भागमा परेको छ। त्यसैले राष्ट्रियसभा अध्यक्षमा हाम्रो दाबी स्वभाविक हो।’

राष्ट्रियसभा अध्यक्ष आफूहरूले पाउने विषयमा गठबन्धनमा यसअघि नै सहमति भइसकेको बताए।

तर, माओवादी महासचिव देव गुरुङ भने यस्तो कुनै समझदारी नभएको दाबी गरेका छन्।

उनका अनुसार पार्टी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिने भन्ने समझदारी नभएको जानकारी गराएका थिए।

राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसले सिटौलालाई अघि सारिरहँदा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल र नवनिर्वाचित सांसद झक्कु सुवेदीको सम्भावना भएको बताइएको छ।

अर्यालको कार्यकाल चार वर्ष बाँकी छ भने भर्खर निर्वाचित सुवेदी आगामी ६ वर्षसम्म राष्ट्रियसभामा रहनेछन्।

आगामी २० गते रिक्त भइरहेको राष्ट्रियसभा अध्यक्ष पदका लागि फागुन २९ गते निर्वाचन हुँदैछ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *