काठमाडौं- संघीय संसद सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएको छ।
प्रत्यक्ष प्रसारणमा सभामुख देवराज घिमिरेलाई मात्र देखाइएपछि प्रतिनिधिसभा बैठक प्रभावित बनेको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले जवाफ दिएपश्चात कार्यालय समयपछि पनि बैठक जारी रहेको भन्दै सचिवालयका कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर प्रत्यक्ष प्रसारण गरेका थिए।
त्यसपछि सांसद रामहरि खतिवडाले बैठक स्थगित गर्न माग गरेका थिए।
बैठकमा सभामुख घिमिरेले सांसदको मागप्रति ध्यानाकर्षण भएको जनाउँदै कार्यसूचीमा रहेका विषयलाई हटाउँदै बैठक स्थगित गरेका थिए।
संसद सचिवालयका कर्मचारीहरू विभिन्न माग राख्दै आन्दोलित छन्।
माग पूरा नभएसम्म कार्यालय समयबाहेक काम नगर्ने बताउँदै आएका छन्।
७ असारसम्म माग सुनुवाइ नभए तेस्रो चरणको आन्दोलन सुरू गर्ने चेतावनी उनीहरूले दिएका छन्।
कर्मचारीहरूले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको तलबमानमा मर्यादाक्रमअनुसार समानुकूल संशोधन गरिनुपर्ने, समिति तथा उपसमिति बैठक सञ्चालन कार्यविधिलाई समयानुकूल बनाउनुपर्ने, सचिवालयमा कार्यरत करारका कर्मचारीहरूलाई बजेट प्रोत्साहन तथा नेपाल सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने लगायतका माग अघि सारेका छन्।
Leave a Reply