जनकपुरधाम- आज देशैभर १७ औं गणतन्त्र दिवस मनाइँदै छ।
नेपाली जनताको संघर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा गणतन्त्र दिवस मनाउन लागिएको हो।
यस अवसरमा तीनै तहका सरकारले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।
देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ।
यस वर्ष जेठ १४ देखि १६ गतेसम्म तीन दिनसम्म नेपालभित्र तथा विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायतका कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको छ।
तत्कालीन नेकपा (माओवादी) को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्ता जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते संसद पुनःस्थापना गरेका थिए।
त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो।
गणतन्त्र घोषणा भएसँगै मुलुकमा साढे दुई सय वर्षदेखि सत्ता सञ्चालन गर्दै आएको शाही शासनको अन्त्य भएको थियो।
Leave a Reply