जनकपुरधाम- कोलकत्ता नाइटराइर्स जारी आइपिएलको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ।
१२ मध्ये ९ म्याच जितेर बलिवुड अभिनेता शारुख खानको टिम १८ अङ्कसहित तीन वर्षपछि आइपिएलको प्लेअफमा पुगेको हो।
शनिबार राति श्रेयस अय्यरको नेतृत्वमा खेलिरहेको कोलकत्ताले मुम्बइ इन्डियन्सलाई १८ रनले पराजित ग¥यो। मुम्यइ यसअघि नै प्लेअफबाट बाहिरिइसकेको छ।
दुईपटक कोलकत्तालाई च्याम्पियन बनाइसकेका गौतम गम्भीरको ‘मेन्टर’ का रूपमा भएको पुनरागमनले कोलकत्ता टिमको कायाकल्प भएको छ।
फिल सौल्टसँग सुनिल नरेनले इनिङको सुरूवात गर्नु गम्भीरको रणनीतिमा सामेल थियो।
यो रणनीतिले कोलकत्तालाई जबरदस्त फाइदा भयो र पहिले ब्याटिङ गर्दै आठपटक दुई सयभन्दा बढी स्कोर खडा ग¥यो।
सुनिलले अहिलेसम्म ३२ छक्का प्रहार गरिसकेका छन्। उनले १८२.९३ को स्ट्राइक रेटले ४६१ रन बनाउँदा अर्का ओपनर सौल्टले १८२ को स्ट्राइक रेटबाट ४३५ रन बनाएर कोलकत्तालाई शानदार सुरूवात दिलाउँदै आइरहेका छन्।
दुवै जना शीर्ष ब्याटरका रूपमा चर्चित छन्। यद्यपि शनिबार राति उनीहरूको प्रदर्शन खासै रहेन।
यसका बाबजुद कोलकत्ताले इडन गार्डन्समा अन्तिम म्याच जितका साथ अन्त्य ग¥यो।
१६–१६ ओभरको खेल
कोलकत्तामा खराब मौसम र वर्षाका कारण साढे ६ बजे हुनुपर्ने टस ९ बजे राति भयो। र, खेल सवा ९ बजे सुरू भयो।
म्चाच १६–१६ ओभरका लागि तय गरियो। मुम्बइका कप्तान हार्दिक पान्ड्याले टस जितेर फिल्डिङ रोजे।
नुआन थुसाराले पहिलो ओभरमै सौल्टलाई आउट गरेर कोलकत्तालाई पहिलो झड्का दिए।
दोस्रो ओभरमा जसप्रीत बुमराहले खतरनाक सुनिललाई आउट गरे।
कप्तान श्रेयस पनि ७ रनको निजी स्कोरमा डगआउट फर्किए। पाँच ओभरको पावरप्लेमा ४० रन जोड्न कोलकत्ताले ३ विकेट गुमाइसकेको थियो।
मध्यक्रमले सम्हाल्यो इनिङ
कोलकत्ताका मध्यक्रमका ब्याटरहरूले टिमलाई संकटबाट निकाल्दै मुम्बइका बलरहरूलाई हावी हुन दिएनन्।
वेंकटेश अय्यर र नितिश राणाले चौथों विकेटका लागि ३७ रनको साझेदारी गरे।
वेंकेटेशले सर्वाधिक ४२ रन बनाए। जसमा ६ चौका र २ छक्का सामेल थियो। उनले वानखेडेमा पनि मुम्बइविरूद्ध सर्वाधिक ७० रन बनाएका थिए।
र, वानखेडेमा १२ वर्षपछि कोलकत्तालाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए।
नितिश राणाले टिममा पुनरागमन गर्दै २३ बलमा ३३ रनको इनिङ खेले। रिंकु सिंहले १२ बलमा २० र आन्द्रे रसलले १४ बलमा २४ रन जोडेर टिमलाई उपयोगी योगदान दिए।
कोलकत्ताले मुम्बइविरूद्ध ७ विकेटको क्षतिमा १५७ रन बनायो। बुमराह र पियुष चावलाले २–२ विकेट लिए।
मुम्बइको जबरदस्त सुरूवात
इशान किसन र रोहित शर्माले मुम्बइलाई शानदार सुरूवात दिलाए। यो जोडीले पाँच ओभरको प्लेअफमा ५९ रन बनायो। दुवै जनाबीच ४१ बलमा ६५ रनको साझेदारी भयो जसमा इशानले ४० रनको योगदान दिए।
सुनिलले इशानलाई आउट गरेर साझेदारी तोड्दा स्पिनर वरूण चक्रवर्तीले इम्प्याक्ट खेलाडी रोहित शर्मालाई १९ रनको स्कोरमा डगआउट जान बाध्य बनाए।
आन्द्रे रसलले सूर्यकुमार यादवलाई ११ भन्दा बढी रन बनाउन दिएनन्। कप्तान पान्ड्या २ र टिम डेभिड ३ रनको निजी स्कोरमा आउट भए।
तिलक वर्माको असफल प्रयास
अन्तिम तीन ओभरमा ५७ रन बनाउन बाँकी छँदा तिलक वर्माले यो समीकरणलाई फेरिदिए। उनले हर्षित राणाको एकै ओभरमा १६ रन बनाए।
१५ औं ओभरमा १९ रन बन्यो र अन्तिम ओभरमा केवल २२ रन बनाउने चुनौती थियो। तर, तिलक र नमन धीरले टिमलाई जित दिलाउन सकेनन्।
तिलकले १७ बलमा ३२ रन बनाउँदा नमनले १७ रन जोडे।
मुम्बइले १६ ओभरमा ८ विकेटको क्षतिमा १३९ रनमात्रै बनाउन सक्यो।
पाँचपटकको आइपिएल च्याम्पियन मुम्बइको यो १३ म्याचमा ९ औं हार थियो।
Leave a Reply