जनकपुरधाम- सरकारले मधेस प्रदेससहित तीन प्रदेसका प्रदेस प्रमुखहरूलाई पदमुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेसका प्रदेस प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो।
तीनवटै प्रदेसका प्रदेस प्रमुखहरूलाई पदमुक्त गरी नयाँ व्यक्तिहरूलाई नियुक्त गर्न सरकारले राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको हो।
मन्त्रिपरिषद बैठकले मधेस प्रदेसका प्रदेस प्रमुख हरिशंकर मिश्र, गण्डकीका प्रदेस प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेसका प्रदेस प्रमुख देवराज जोशीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
सरकारले पदमुक्त गरेका प्रदेस प्रमुखहरू यसअघि नेपाली कांग्रेसको सिफारिसमा नियुक्त भएका थिए।
सरकारले मधेस प्रदेसमा सुमित्रा भण्डारी, गण्डकी प्रदेसमा डिल्लीराज भट्ट र सुदूरपश्चिमको प्रदेस प्रमुखमा नजिर मियाँलाई नियुक्त गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको सञ्चारमन्त्री शर्माले बताएकी छन्।
त्यस्तै मन्त्रिपरिषद बैठकले विभिन्न समितिहरू बनाउने निर्णयसमेत गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक समितिको नेतृत्व सम्हाल्ने भएका छन्।
त्यस्तै आर्थिक पूर्वाधार समितिमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, विधेयक समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, प्रशासन समितिमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको छ।
Leave a Reply