जनकपुरधाम- सुदूरपश्चिम प्रदेसका मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई प्रदेस सांसदले दाबी प्रस्तुत गरेका छन्।
प्रदेस प्रमुख नजिर मियाँसमक्ष नाउपाका दुई प्रदेस सांसदले मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका हुन्।
प्रदेससभाको ठूलो दल नेपाली कांग्रेस, नाउपा र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेताको हस्ताक्षरसहितको समर्थनमा नाउपाका प्रदेससभा सदस्य लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरे।
केही समयपछि त्यही पार्टीका अर्का प्रदेससभा सदस्य कैलाश चौधरीले केन्द्रीय गठबन्धनअनुसार माओवादी केन्द्र, नेकपा एमाले र नाउपाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरे।
लक्ष्मणकिशोरलाई मुख्यमन्त्री नियुक्त गर्नमा प्रदेससभामा रहेका राप्रपाका एक सदस्यको पनि समर्थन रहेको जनाइएको छ।
एउटै पार्टीबाट दुई जनाको दाबी पेस भएपछि प्रदेस प्रमुख मियाँले कानुनी परामर्श थालेका छन्।
कानुनी परामर्शपछि मुख्यमन्त्री नियुक्ति हुने प्रदेस प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले जानकारी दिए।
नाउपामा उत्पन्न आन्तरिक किचलोका बीच मुख्यमन्त्रीमा दाबी पेस गरेका लक्ष्मणकिशोर पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरी पक्षका र कैलाश पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठनिकट रहेको बताइन्छ।
प्रदेस प्रमुख मियाँले २३ चैतमा संविधानको धारा १८३ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।
मुख्यमन्त्रीमा दाबी पेस गर्ने समयसीमा आइतबार अपराह्न ५ बजे सकिएको छ।
नाउपा सुदूरपश्चिम प्रदेससभामा चौथो ठूलो शक्ति हो।
पार्टीभित्र बढेको आन्तरिक कलहका बीच अध्यक्ष श्रेष्ठले प्रदेससभामा संसदीय दलका नेता घनश्यामलाई केही दिनअघि दलको नेताबाट हटाएर कैलाशलाई जिम्मेवारी तोकेकी थिइन्।
त्यस्तै उनले पार्टीका तर्फबाट निर्वाचित समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाएकी थिइन्।
तर, सर्वोच्चले गिरीलाई आइतबारमात्रै पुनर्बहाली गरेको छ।
५३ सदस्यीय प्रदेससभामा मुख्यमन्त्री नियुक्त हुन २७ प्रदेस सांसदको समर्थन आवश्यक हुन्छ।
सुदूरपश्चिममा कांग्रेसका १८, सभामुखसहित माओवादी केन्द्रका ११, एमालेका १०, कारबाही गरिएको भनिएकासमेत गरेर नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक स्वतन्त्र सदस्य छन्।
रिक्त रहेको एक पदमा यही वैशाख १ गते उपनिर्वाचन हुँदैछ।
Leave a Reply