
मन्त्रिपरिषद बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय।
जनकपुरधाम- सरकारले ‘फास्ट ट्र्याक’ बाट अध्यादेश पारित गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसदमा फास्ट ट्र्याकबाट अध्यादेश पारित गर्ने निर्णय गरेको हो।
मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेशहरू संसदबाट फास्ट ट्र्याकमा पारित गर्दै चाँडै कार्यान्वयनमा लैजाने निर्णय भएको बताए।
उनका अनुसार अध्यादेशहरू कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउने निर्णयसमेत भएको छ।
आगामी १८ गतेदेखि सुरू हुन लागेको संसदको हिउँदे अधिवेशनबाट अध्यादेश पारित गरी कार्यान्वयनका लागि तदारुकताका साथ नियमावली बनाउने निर्णय भएको गुरुङले बताए।
त्यस्तै सरकारले सहिद दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ।
यसैबीच प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले शुक्रबार हुने प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गरेको छ। सभामुख देवराज घिमिरेको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची निर्धारण गरेको हो।
बैठकको निर्णयअनुसार अधिवेशनको पहिलो दिन ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविवधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ प्रतिनिधिसभामा पेस हुने छन्।
Leave a Reply